भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

व्यर्थ प्रयास / पारिजात

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तँलाई पछ्याउने मलाई व्यर्थ प्रयास के !
तँ बिहानको जल्दो स्वर्णीम उषा,
म क्षितिजपारि अस्ताउने सूर्य,
फेरि तेरो पल्ला समाउने मलाई व्यर्थ प्रयास के !
तँ मञ्जरीबीच गाउने वासन्ती कोइली,
म एकान्त ध्यानमा रूने विरही न्याहुली,
फेरि तेरो पञ्चम राग गाउने मलाई झूटो लोभ के।
तँ गगनबीच चन्द्रसँग चम्किने तारा,
म सागरतटमा पछारिने बालुकण,
फेरि तँसम्म पङ्ख उचाल्ने मलाई वञ्चना के !
तँ प्रखर धूपमा देखिने मरुभूमिको मृगतृष्णा,
म प्यासले व्याकुल तृषित यात्री,
फेरि तँलाई पिएर शान्त हुने मलाई असफल प्रयत्न के!
तँ गृष्माकाशको रसिलो बादल,
म आँशु पिउने प्यासी चातक,
फेरि तेरो पवित्र जलमा चुच्चो गाड्ने मलाई असम्भव सपना के !
तँलाई पछ्याउने मलाई व्यर्थ प्रयास के !