व्यस्तताले निलेको मुस्कान आफ्नै ओठको / बम देवान
मलाई त थाहैभएन…
कहिले आएछ वसन्त
र टाँसेछ मुनाहरू हाँगामा, झाडीमा
र
लेखेछ प्रीतिका नयाँ गीतहरू
ऐँसेलुमा झुमेका
वनचरीका भाका–भाकामा ।
वास्तवमा मलाई कहाँ थाहा हुन्छ र,
जुरे थुम्का र नागीहरूमा
कुन बेला सुनौलो लाली मुस्कुराउँछ ?
चियाल र सिमलका नरम–नरम पातहरू चुमेर
कुन बेला दिनले बिदा लिन्छ ।
यो त मान्छेलाई मात्र थाहा हुने कुरा हो।
कसरी बूढो वर्ष लौरो टेकेर घुम्तीबाट पार हुन्छ ?
कसरी नयाँ वर्ष
समयको घोडामा उन्मुक्तिसाथ सवार हुन्छ ?
शिर ठाडो हुनुपर्छ यी सब हेरेर जान्नलाई,
शिर ठाडो हुनुपर्छ ।।
समय बैँसालु हुनुपर्छ
चौतारीमा भारी बिसाएर
एक मुठी शीतल सास फेर्न पाउनुपर्छ।
भारीले थिचेर कुप्रो परेको शरीरलाई
नाम्लोमुनि रातदिन निहुरिएको शिरलाई
के थाहा होस् कठै।
ती वैभवशाली सौन्दर्यका रङ्गहरू
के थाहा होस्
जीवनका अँध्यारा/उज्याला आभासहरू ।
हुन त मैले पनि
ठाडो शिर भएको मान्छे हुन पाउनुपर्ने,
पाउनुपर्ने अब ता,
मान्छेको पाइताला लिएर हिँड्न पाउनुपर्ने।
बौरियामा बाँधिएका छिनसित
कता हरायो मुस्कान आफ्नै ओठको ?
चारैतिर छाएको रङ्गीन वसन्त
आँखाहरूले छाम्न पाउनुपर्ने।
चौतारीमा शीतल छहारीमुनि
वनचरीसँगसँगै आफ्नो उन्मुक्तताका गीतहरू गाउन पाउनुपर्ने
अहो। अब त—
आफूले आफैलाई बेस्सरी अँगालोमा बाँधेर
माया गर्न पाउनुपर्ने।।