भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

शताब्दी पग्लेको ओढारसित मान्छे / तोया गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएर
कोच्चिएर, कोप्चिएर ओढारभित्र
जिन्दगी खाँदिएर
मान्छे…
मान्छे दब्बिएर अपरिचित भइसकेको छ
लम्केर, केवल लम्केझैँ गरेर

फुस्किएर नलीखुट्टाका हाडहरू
अन्धोतुल्य ठोक्किएर
अन्धोहीन खहरेमा मिसिएर
ओल्टिँदै
पल्टिँदै
यी जिन्दगीका आभासहरू

मान्छे…
कोरिन्छन् पानाहरू
आवाज तिखारिएर
मक्किन्छन् पानाहरू
इतिहास बिर्सिएर
होमिन्छ आगाको ज्वालाभित्र
सीता होमिएझैँ अग्निमा
अग्निपरीक्षा होइन त्यो तर
खरानी भएर मसानघाटमा
मान्छे…
जिन्दगी छाम्दै गए
केवल ऐनाको प्रदर्शनीभित्र
रित्तिएको जिन्दगी धोक्रे र बोक्रे मायाभित्र
 
यसैले
मान्छे जन्मन्छ, मर्छ
अनि के–के गर्छ (जन्म र मृत्युको दोभानमा)
के–के हुनुपर्छ मान्छेले

धरती जिउँदो लाग्छ मान्छे पाएर पाएर
अनगिन्ती मान्छे
तर माटोमा कुल्चेर छाप बस्छ
त्यही पापी मान्छेको
अस्तित्व हराउँदै गएको मान्छेको

पाएर थुप्रै आफैजस्तो— झक्कालझुक्कुल परेजस्तो

नाट्यशालामा
पासोमा पर्दै नासो भएर
नाटक देखाउँछ यही मान्छेले
धरतीलाई आँसु र हाँसोको उपहार सुम्पेर
तर पनि कसो–कसो
निसास्सिँदै गनाउने ओढारभित्र
गुम्सिँदै जाँदै छ मान्छे
प्रश्नैप्रश्नको भारी बोकेर

तर
सहर–बजारमा बाँच्ने ए मान्छे
ओढारभित्र टुक्रे चट्टान पल्टाउँदै जन्मेको मान्छे
आश्रम नपाई जङ्गलमा सन्न्यासी बन्ने यही मान्छे
किन । भ्रम छ मान्छेको मान्छेलाई
आफ्नै प्रतिविम्बदेखि नै

हुन सक्छ अनगिन्ती रूखहरू
अनगिन्ती रूप लिएर जन्मन सक्छन्
प्रेमिकाको लासमाथि ताजमहल जन्मेझैँ
अझै चाहँदो हो प्रेमिकाको लासमाथि
त्यस्तै ताजमहल जन्माउन
 बलिको बोकोझैँ पोसिएको मान्छे
अझै बिहान भोकाएको छ मान्छे देखेर

भ्रम छ मान्छेलाई
कसरी मान्छे सस्तो ?
 किन मान्छे सस्तो?
झस्किन्छन् यी मान्छेहरू ओढारको इतिहास पल्टाएर

जता जाऊ तिमी— हामीजस्तै मान्छे
कहीँ खित्का छाड्दै पाखुरी बजाउने मान्छे
अब कहाँ अटाउने
बीसौँ शताब्दीको चमत्कारमा दङ्ग हुने ए, मान्छे।

पुरानो ओढारमा स्मृतिपट पल्टाउँदै
मान्छे… एक चोटि सास फेर्छ
भ्रमले हाँगा फिँजाउँछ

अस्तित्व एउटै हुँदै
पुर्खाको निम्तालु पत्र पाएर
मान्छे…
लौ त यहीँसम्मन् आएर…