भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

शब्दको जहर / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कविता पनि त
एउटा क्षोभ हो, तृष्णा हो
आदिवासी गुफा हो, र
भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ
अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा
मनमा तर
आभासहरूलाई छुन खोज्छ
अनुभव र आस्थाको सङ्गमर्मर
तोड्न खोज्छ
त्यसैले कहिले त अत्यन्त पीडा हो
अभ्यन्तरको निरीहता
निर्मम एकाकीपन,
निर्भय गहिराइ र अँध्यारोपन ।

जुन आद्य जङ्गल हो
केही नितान्त नाङ्गै परिधानहीन उभिन्छ,
आवरण छैन
कुनै कवच र
कुनै त्राण छैन,
भर्खरै आमाको गर्भबाट जन्मेको मेम्ना
सानो र मसिनो तृणले पनि
देह गहिरो बेध्छ
मासु बेध्छ, उसको

अरुणा लामाले मलाई सोध्थिन्-
किन मलाई सबैले दुःखी गीत मात्रै दिन्छन्?
उनका पीडाको दुःख मलाई बोकाउँछन्?
दाइ, उनका अक्षरहरूले मलाई सधैँ बेध्छन्!
म पनि त
आह्लाद गाउन सक्छु! भन्थिन्।

तर आफै पराई शब्दको जहरले निरन्तर
क्षतविक्षत छु
शब्दको जहरले विदीर्ण छु
आहत छु
विषपायी म, नीलकण्ठ पनि म
अक्षर बेध्छ म
अक्षर नै आज्तेकजस्तो
नितान्त क्रूर र सामन्त!

त्यसैले कवयित्री मोमिला पनि भन्छिन्-
'मेरो मन आदिवासी'
सायद यस्तै
त्यसैले म र मेरो जम्मै
अस्तित्व पनि आदिवासी ।

अक्षरले अचेल मलाई तीखो झीर घोच्छ
निरोको आगो र भ्वाइलिनको स्वर
अनि रोम सहरको मोन्टाज, इतिहासको
मेरै कविताले मलाई बेध्छ
आदिवासी मन बेध्छ ।