भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

शरणार्थी रहर / दुबसु छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखाहरूमा अचेल कुनै समवेदना बिझाउँदैन
खुसी या जितहरूका समाचारले पनि मन रिझाउँदैन
बत्ती या गुलुबहरूले
पुतली टाँसेजस्तो मन अचेल सौन्दर्य समाउँदैन
रहर अब जहरजस्तै भइसकेछ
सुन्दरताका भाखाहरूमा, मुटु हेर्ने पाखाहरूमा पनि मन रमाउँदैन

पत्रहरूमा अक्षर भरी भरी यौवन पठाएकी रहिछ्यौ
आवेग संवेगहरूले अचेल मन छुँदैन
एकान्तको वियोगले सताएको उल्लेख गरिछ्यौ
वियोग र वेदनाले अचेल मन रुँदैन
'काफल पाक्यो' चरीको कथा पढेपछि
छोरो तपाईंलाई सोधिरहरन्छ - लेखिछ्यौ
खुसीहरूले मेरो मन तानिन्छ - ठानिछ्यौ, अहँ तानिँदैन
रहर अब सहर जस्तै भइसकेछ
गाउँपाखाका प्रीतहरूले, कोइलीले गाउने गीतहरूले मन थामिंदैन

बैंसको वेग बाग्मतीभन्दा बढी छ - लेखिछ्यौ
यौवनका यादहरूमा अचेल मन फुल्दैन
सम्झनामा सयपत्री र लालीगुराँस पठाइछ्यौ
तिम्रा हातहरूमा अब मेरो यौवन खुल्दैन
खामभित्र-बाहिर जताततै
वियोगका आँसुहरू खसालेर लतपत गरिछ्यौ
मनको घाउ खाटा बसिसकेछ, अब चहराउँदैन
यन्त्रजस्तै भइसकेछु म पनि थाहै नभई
मन पनि शरणार्थी भइसकेछ
अब त कुनै रहर पनि सायद लहराउँदैन ।