शहरभित्र केको हो यस्तो / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा
शहरभित्र केको हो यस्तो वियोग विलाप?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप।
बज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार।
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश-छाना घरको माथि छ।
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो।
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको।
कलिलो रुख पिटिक्क भाँचेको।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला;
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला?
हा कठैबरी! भिजेका परेला!
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूच्र्छा इन्तु-न-चिन्तु माथिको तलामा,
ती मुना कठै! नीली भै पलामा!
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे! बिजोग त्यस्तो! दैवले देख्तैन,
दैवले देखे कसरी हेर्छ? कलम लेख्तैन!
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल!