भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शान्ति क्षेत्र - नेपाल / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

युद्ध त--‍
बुद्ध स्वयंमा युद्ध हो
मैले उसलाई
हिंसाको विरोधमा डटेको सुनेको छु
युद्ध त--
जन्मको संस्कार
र, निर्माणको बोली हो
आहा! कत्ति मीठो हुन्छ युद्ध!
अप्ठ्यारो बाँच्नुको विरुद्ध
मैले--
पहाड फोर्दै बाटो बनाउने युद्ध देखेको छु
फरक यत्ति छ- तिम्रो र मेरो सोचाइमा
युद्ध--
तिमी हिरण्यकशिपुलाई भन्छौ
म, प्रल्हादलाई भन्छु
भो! मसँग
भोक लाग्दा बारुद पस्कने कुरा नगर
बन्दुकको सिरानी हालेर
खै! कसले विश्वास जित्यो र!
युद्ध जित्न त
मन जित्नुपर्छ
मैले मान्छेको हरेक जातलाई
नातेदार ठान्ने गरेको छु
आऊ!
हातबाट बन्दुक फालेर
तिमी पनि मैँसँग मिसिऊ
भर्खरै वागमती नुहाएर
म--
अशान्ति विरुद्धको युद्धगर्न हिँडेको छु