भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शून्य मुटुको धड्कनभित्र (शीर्षक कविता) / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो कस्तो शून्य भयो ?
मुटुले पनि पोल्यो
आँखाले पनि पोल्यो
केवल आगोले पोलेन
यो चुरोटले पोलेन ।

मायाले पोल्यो
आकाशले पोल्यो,
हिजो हरायो
आज शून्य भो' ।



तरल यो जीवनबीच
न आलिङ्गनले भिजायो
न चुम्बनले भिजायो
न यौवनले भिजायो ।
क्षितिजसहित आकाश शून्य भो'
फगत आँखाले भिजायो ।

पैदल यात्रा यो तरलताको
पाइला हरायो उडेर आकाशमा।
माया आगो, माया पानी
मिलेर आपसमा
धूवाँ भो
यो कस्तो शून्य भो ।

माया शून्य !

माया किन हुन्छ शून्य?


शून्य मायाले जीवनको
आँखा शून्य भो'
मुटु हरायो ।

मुटु हरायो
अन्धकार भो ।
संसार जीवित छ
सूर्य उदायो
आँखा अन्धकार भो
आँखा शून्य भो ।



म माया
माया शून्य, म शून्य !
आँखा शून्य, पानी शून्य
तरलतामा बिलाएका चेतना शून्य ।
तरलता शून्य
यो कस्तो शून्य भो ?

यो हिजो
त्यो आज ।
उल्टिएर धरती, ठाडिएर तरलता
पोखिएर आगो
आगो माया भो ।

आलिङ्गन आगोसँगको
आलिङ्गन मायासँगको
आलिङ्गन जीवनसँगको ।

मेरो जीवनले भन्यो
यो अन्तिम आलिङ्गन हो
हामी बीचको ।

म माया, म डर
म मौन, म विलिन ।



मैले पाएको उपहार हो यो
सेतो ओछ्यानमाथि सेतो तन्ना
सेतो तन्नामाथि सेतो ओछ्यान
राता मायाहरू र
हरिया मायाहरू फक्राएर ।

अनुपम उपहार
मेरो एकान्तसँगको मेरो कोठा
र यो वैयक्तिकता
र यो तन्ना सेतो
र यो ओछयान सेतो;
जहाँ तरलता शून्य छ
आगो शून्य छ
माया शून्य छ
आरिस शून्य छ
व्यवहारिकता, सामाजिकता शून्य छ
भौतिकता र संवेदन शून्य छ ।

यो शून्यतामा
म जीवनसँग निस्फक्री
माया गर्न पाउने छु,
जहाँ जीवन निर्वस्त्र मेरो अगाडि उभिएको हुन्छ
मेरा लागि अन्तिम आलिङ्गन बोकेर;
संवेदनाका धड्कनसँगै
मुटु र आँखाहरूमा
हत्केला र ओठहरूमा;
जहाँ केही पनि नग्न छैन ।

त्यहाँ नग्नतामा आवरण छ मायाको
रातो, ओठहरू जस्तै
तरल, आँखाहरू जस्तै ।

यो नग्नताभित्रको मायामा
वैयक्तिकता शून्य भो ।

वैयक्तिकताको शून्यतालाई पन्छाएर
आलिङ्गनमा बेरेर नग्न जीवनलाई
एउटा रुमानी कविता लेख्न पनि त सकिन्थ्यो !
तर
खुसीका निर्वैयक्तिकता बीच
जीवनसँगको माया र चुम्बनमा
कविताको के अर्थ ?

साँच्चै नै आलिङ्गनमा जीवनको
कविता अर्थहीन लाग्छ,
जसरी
राम्री मायालाई राम्री भन्नु
लजालु आँखालाई लजालु भन्नु
माया गर्नेलाई माया गर्छु भन्नु
कति निरर्थक लाग्छ
कति अनुत्पादक लाग्छ !

सपनाजस्तो
जीवनजस्तो
साथ रहुञ्जेल रमाईलो
साथ छुट्दा शून्य ।

यो कस्तो शून्य भो ।



आलिङ्गनले बेरेर शून्यतालाई
मायाको अनुभूति यो छातीमा
छातीभित्रदेखि
छातीभित्रसम्म
मुटु वरिपरि
मुटुभित्र ।

आज यो धड्कन मुटुको,
कस्तो शून्य भो !