शोकगीतको पोस्टमार्टम / निमेष निखिल
धपाउनु छ किरणहरूले हिर्काएर
कोठाभरि बाँकी रहेको अँध्यारो ।
भोक चिहाइरहेछ निर्लज्ज जुठेल्नाबाट
रोग ङिच्याइरहेछ दाँत आँखैअघि
लखेट्नु छ सबैसबैलाई जीवनका छेउछाउबाट ।
यो उन्मुक्त हाँसो
कसैको कुटिलता सापटी मागेर टाँसेको हैन अनुहारमा हामीले
झारेरै छोड्छौँ-
डाँडामाथि मात्र लुकामारी खेली हिँड्ने घाम एक दिन
जाबो बादल कतिन्जेल छेकेर उभिरहन सक्छ उज्यालो -
हामी अनुहारहरूमा कलिलो सूर्योदय पर्खिरहेछौँ ।
लेखुँला नि कविता त !
बस्, उक्सिऊन् मादल पेटहरू
अलिकति हाँसो पोखियोस् सुनसान मझेरीतिर
जताबाट आएको हो उतै फर्कियोस् चेतनामा लाग्ने रुँघाखोकी
कविता त लेखुँला नि फेरि पनि !
धेरै गाइयो दुखका सुस्केराहरू भाका हालेर
गीत गाएको अभिनयमा
हामीले त शोकगीत पो गुनगुनाएका रहेछौँ आजसम्म
आफ्नै छातीका वेदना निचोरेर
अब गर्नु छ- यी सबै शोकगीतको पोस्टमार्टम
र निकाल्नु छ पीडाका कीटाणु जिन्दगीका चेपहरूबाट
खोज्नु छ नयाँ समयका लागि नयाँ नयाँ भाकाहरू
गीत त फेरि पनि हामीले गाउनै छ ।