भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

श्रद्धाका फूलहरू / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म देख्थें औंसीमा पनि कलविषे बादल थियो ।
उषा कालो, सन्ध्या,दिनकर अझै निस्पट थियो ।।
चुहेका आँखाले तन जब पखाल्थ्यो सरसरी ।
भिजेका आँखाको मुटु अझ चिरिन्थ्यो चरचरी ।।
(१)
थिए यौटा सानो शहर बिचमा व्राम्हण कुनै ।
दयाका दानी ती जनप्रिय दयाराम नि उनै ।।
उभेको श्रद्धामा द्रवित सुख लेपन थियो ।
सुखी सारङ्गीमा दुखित नियती रेटिन गयो ।।
(२)
थिइन् छोरी यौटी निलकमल झैं कल्कल कला ।
शशी सावित्रीकै सरह तनकी चाल चपला ।।
अझै ज्ञानी पार्ने मन शुभ हुँदा होस्टलमहाँ ।
गरौं भर्ना भन्दै उसदिन लगेका शहरमा ।।
(३)
थियो पार्टी निम्तो निकट जनको उत्तर तिर ।
बिसाएछन् गाडी सडक डिलमा दक्षिण तिर ।।
ल है मानौ निम्तो भनिकन हिंडे बान्धव कहाँ ।
थियो चालक् भित्रै मधुकर ध्वनी कार बिचमा ।।
(४)
सिधा गोठ्गाऊँको बिच सडकको उत्तर हुँदै ।
सबै लागे भोजन् गरिकन हिंडौ स्वागत लिंदै ।।
भनी एकै चिम्टी समय जड त्यो गुज्रित हुँदा ।
नखाने क्यै भन्दै परपर भइन् बाल सनिका ।।
(५)
यसैबेला छोरी पनि अलि छिटी बन्दिन गइन् ।
बुबा आमा छोडी अलमल नभै फर्किन गइन् ।।
नयाँ बाटो हेर्दै अघि अघि बढिन् द्रूत गतिमा ।
चढौं आफ्नै गाडी भनिकन कुदिन् मार्ग जतिमा ।।
(६)
कुनै आयो गाडी धनु तिर सरी वेग छ गति ।
अहो ! बज्रै हान्यो ! हृदय चिरियो, दुष्ट नियति ।।
भकुण्डो हाने झैं शिशु तन उछिट्यो अति पर ।
ढले गोडा काम्दै रगत जलका कुण्ड सरह ।।
(७)
न ऐया ! भो आत्था नत सकसनै भो जिउनको ।
न पत्तै भो त्यत्रो अभय भय चित्कार उनको ।।
बने द्यौता पापी कि त नियतिको झेल मनले ।
कठै ! भोगे कस्तो ? उसदिन पिता मातृ जनले ।।
(८)
उठाई नानी त्यो हतपत पुगे हस्पिटलमा ।
सुनेका मान्छेको जुलुस खनियो श्वास भरमा ।।
न मिल्यो धुक्धूकी नत हृदयको सुस्त वचन ।
विधाताले हे¥यो सुख चयनमा दुष्ट नयन ।।
(९)
विहोसी छिन् आमा शिशु निधनले मूर्छित अझै ।
दुखेका बाबाको मुटु हरण भो शून्य छ सबै ।।
धरा आफैं रुन्थिन् निधन धनका आँसु पिउँदै ।
दुखी पीडा रुन्थ्यो विपत मनका भार सहँदै ।।
(१०)
(स्व.बालिका सोनिका भट्टराईको संझनामा –२०६७)