भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

श्रद्धाञ्जलि जुठेलाई / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जुठे
शोकमिश्रित गर्वले
हिमालजस्तो शिर उठाएर
तिमीलाई श्रद्धाञ्जलि चढाइरहेछ महाङ्काल
आँसुका रहहरूमा डुबेर पनि
आत्मीयताका गुराँसजस्ता हात हल्लाएर
अभिवादन गरिरहेछ गोल्फुलेक
जुठे तिमीले आमाको दूधको भारामात्र होइन
माटोले जिम्मा दिएको अभिभारा पनि पूरा गरेका छौ ।

जुठे
तिमी मरेर पनि मरेका छैनौ
चेलीहरूले आँखामा आँसुका मोतीहरू बोकेर
हरेक तिहारमा सयपत्रीमा खोज्नेछन् तिमीलाई
आमाहरूले मुटुमा भक्कानो थामेर
हरेक देउसीका लयहरूमा भेट्नेछन् तिमीलाई
बलात्कारीहरूसँग लड्दालड्दै
ब्वाँसाहरूसँग भिड्दाभिड्दै
सत्यको पक्षमा न्यायको समर्थनमा
सहादत प्राप्त गरेका छौ तिमीले

चेली बलात्कृत भएको देख्ता सहन सकेनौ
दुष्टहरूसँग लड्न तम्तयार भयौ
सभ्यता र मर्यादा नाङ्गिएको हेर्न सकेनौ र
हत्याराहरूसँग भिड्न अग्रसर भयौ
विजय र पराजयभन्दा
असभ्यताको, विरूद्ध जाइलाग्नु महानता हो
हो यही उद्देश्यबाट अभिप्रेरित तिमी
अन्धकारसँगको, बर्बरतासँगको युद्धमा
सहादत प्राप्त ग¥यौ तिमीले ।

तिमी सभ्यता, मानवता
र संवेदनशीलताको प्रतीक बनेका छौ
महाङ्काल र गोल्फुलेक मात्र होइन
तिम्रो सम्मानमा
सगरमाथा शिर निहुराउँछ
आदरणीय जुठे
तिमी कहिले ननिभ्ने दीपशिखा भएका छौ ।