श्रद्धान्जलीमा काँपेका हातहरु / सन्तोष थेबे
प्रिय साथी
तिम्रो रहस्यमय मृत्यु
मान्छेहरुको भीडमा ध्वनी प्रदुषण भएको छ
कुरा काट्ने र कुरा बाट्नेलाई राम्रो अवसर भएको छ
तिमी एक मुस्लो धुँवा भएर माथि आकाशमा उडिरहेछौँ
म घाटको किनारमा बसेर शोक मन्तव्य कोरिरहेछु
प्रिय साथी
मृत्युको होडबाजीमा तिमीले जित्यौ
पुलिसको सनाखतले पुरानो नजिर पल्टाएको छ
तिम्रो अपराधलाई कालो सुचीमा टाँसेको छ
तिमीले सुन्दर आँखाले देखेका जीवनहरु
तिमीले कोमल मनले लेखेका गीतहरु
आखिर
ढोका बन्द गरेर एकान्तमा
भक्कानो फुट्न नसकेका छातीहरुमा
सबै–सबैलाई छलेर पिएका मन्द–मन्द बिषका
खोस्टाहरुमा किन
जीवनका भाखाहरु भित्ताभरि खोपिदियौँ ?
तिमीले सुनाएका जीवनका स्वर्णीम अवशेषहरु
किन दलिनका अँध्यारा चेपहरुमा कोचिदियौँ ?
प्रिय साथी
हुन त आपूmलाई मार्नेहरुको भीड
बस्तीमा डढेलो भएर सल्किरहेछ
बस्तीमा हुचिल भएर कराइरहेछ
शायद
समय साल यस्तो भएर हो कि
विवेकलाई चेतनाले ढाकेर हो ?
आजकल मान्छेहरु
मृत्युका गीतहरु उन्मुक्त भएर गाउँछन्
मृत्युका जिजीविषाहरु खल्तीमा राखेर हिड्छन्
कस्तो चित्त होला ?
कस्तो विवेक होला ?
कस्तो संकल्प होला ?
आपूmले गरेका वाचाहरु एक मुठी ढिस्कोमा खसेर
आपूmले देखेका सपनाहरु एक त्यान्द्रो पासोमा झुण्डिएर
किन यो विद्रोह सल्किरहेछ
किन यो रहस्य गहिरिँदैछ
प्रिय साथी
तिम्रो श्रद्धान्जली
तिम्रा खरानीका अवशेषहरु
तिमीले बहिष्कार गरेको जीवनको नजिर भएको छ
मृत्युका गीत गाउनेहरुलाई सहारा भएको छ
घाटमा श्रद्धान्जलीका पहाडहरु उठिरहेका छन्
तिमीले देखेका सुन्दर आँखाहरु
तिमीले लेखेका नरम शब्दहरु
बर्षेनी खहरेहरुमा भेल भएर बग्छन्
बर्षेनी खहरेहरुमा बगर भएर सुक्छन्
तिमीले गरेको निर्णयको बारेमा मान्छेहरु
भिन्न–भिन्न अर्थमा
भिन्न–भिन्न शर्तमा
तिम्रो अनुपस्थिति बोलिरहेछन्
श्रद्धान्जलीका पहाडमा अनगिन्ति ध्वजापताकाहरु हल्लिरहेछन्
श्रद्धान्जलीका डायरीमा अनगिन्ति हस्ताक्षरहरु सल्बलाइरहेछन्
पुलिसले उठाएको मुचुल्कामा तिम्रो विद्रोहलाई सदर गर्न
यी हातहरु त्यसै–त्यसै काँपिरहेछन्
यी हस्ताक्षरहरु त्यसै–त्यसै छलकपट सम्झिरहेछन् ।