१. म
शब्दहरुको पखेटा लगाउँछु
मेरा रहरहरुको आकाशमा निश्चिंत कावा खान भनि
तिमी मलाई मेरो धरातल दिन्छ्यौं
अनि
म
चुपचाप आकाशका ताराहरु गनिरहन्छु
— आकाशका ताराहरु
२. म
जिन्दगीसँगसँगै कलम र पानाहरु भोग्छु
तिमी
हरिया रहरहरु उमार्न खोज्छ्यौं
— मेरो बाँझो धरातलमा
अनि
म
किंकर्तब्यविमुढः सपनाहरु हेर्न थाल्छु
— मात्रै सपनाहरु
३. म
सपनाहरुकै बिस्कुन फिंजाइ
चराहरुलाई झैं तिमीलाई फकाइरहेको हुन्छु
तिमी
सपनाहरु हेर्ने आँखाहरु नै लुछेर लान्छ्यौं
अनि
म
हताश भइ पर्खाल खडा गर्छु
— शब्दहरु र मेरो बीचमा
४. म
तिमीमा जूनको शुभ्रता खोज्छु, पाउदिन
तिमी
महंगो घाम बनि ठिङ्ग उभिदिन्छ्यौं
जिन्दगी र मेरो बीचमा
अनि
म
अन्यौल अन्यौलमा नै खल्तीभरि रातहरु बोकि हिड्छु
— कुनै अपरिचित गल्लीहरुमा
५. म
अँध्यारोलाई कुना लगाउन
छिचोल्न नपर्ने स्थानसम्म खेद्न
एक पित्को उज्यालो खोजी हिँड्छु
तिमी
एक डोको अँधकार मेरो छेउ ल्याइ पगाल्छ्रयौं
र, फैलाउछ्रयौं मेरा दिनहरुमा
अनि
म
अत्तालिंदै भन्छुः यस अँधकारमा मलाई जून चाहियो
६. म
एउटा कलम भन्दा बढी केही छैन
तिमी
एउटा अधुरो कविता
कहिल्यै पुरा नहुने — जिन्दगी जस्ती
७. म,
तिमी,
सपनाहरु,
रहरहरु,
जिन्दगी,
कलम
र पानाहरु
एक्काशी बन्द गर्छु यी सबै
— एउटा श्रृंखला —
क्रमशः बन्छ !
क्रमशः टुक्रिन्छ !!