Last modified on 13 मई 2017, at 13:24

सँगै नहाँसनु तिमी . . . . / मुकुन्द प्रयास

रोयो भने एकान्त एक्लै नरुनु तिमी
कतै हाँसे भिडहरु भने सँगै नहाँसनु तिमी ।

डुबेमा घाम क्षितिजमा गाँठाहरु बुनिन्छन्
हर साँझ मान्छे रुने भाकाहरु सुनिन्छन्
साह्रै दुखे एकान्त रुँदै नबस्नु तिमी
कतै हाँसे भिडहरु भने सँगै नहाँसनु तिमी ।

अघि पछि नहेरी बाटो कतै नलाग्नु
एक्लै परे दोबाटोमा सहारा नमाग्नु
झरे छिटै रातहरु आत्तिइ नभाग्नु तिमी
कतै हाँसे भिडहरु भने सँगै नहाँसनु तिमी ।