भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सङकटका भरिया / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

नेपाली भूमिमा धेरै गाउँ थिए कठीनका
पखेरा भिरका डाँडा मरुभूमि समानका

पानी या शीतका थोपा झर्थे वर्षा न ह्यूँदमा
झर्दथे आँसुका थोपा घातले तप्प बूँदमा

बुट्टा थिए कतै झाडी कोणधारी धुपी कतै
पखेरा भिरमा झ्याउ झुल्दथे लहरा जसै

हिमाल फुस्फुसी वर्सी चिसिँदा हिम पर्वत
उम्रने गर्दथे केही जडीबुटी अनायस

थिए मानव क्यै ज्यूँदा चढी पर्वत अक्कर
खोज्दथे जिन्दगी धान्न जडीबुटी भयङ्कर

बाँकीका जनता सारा भारी ढाकरमा कसी
खाद्यान्न बोक्तथे बाँच्न ज्याला मज्दूर –सन्तति

महिनौं हिंड्दथे खेपी भारी पर्वत भीरमा
बच्चा बूढा र अद्बैंसे नाम्लोका डोव शीरमा

ढुङ्गा थप्थे पछिल्लाले रोए बालक भार भै
अति भै छोड्दथे डाको झिक्थे एक उदार भै

छलेर राख्तथे ढुङ्गा झिक्तथे अनि प्यारमा
त्यै रीत हिंड्दथे बच्चा बोकी भार ललाटमा

पुर्खाले बोक्तथे भारी जिजुले पनि त्यो सिके
जानेको बाबुको पेसा थामे यी बाल– वृन्दले

जानेको छैन क्यै बोल्न दूरता लेख्न पढ्न को
सिकेको सीप मात्रै हो भाषा आफ्नै पठारको

जान्यो केवल थाप्लोमा राख्न नाम्लो र ढाडमा
सयौं केजी गरौं भारी तोक्मा लाई पहाडमा

भेटिए बोक्तथे आफ्नै जङ्गली क्यै जडीवूटी
अधिकांश उठाइन्थे ज्यालाका अरुकै गुटी

तोलातोला निकालेर बेची पैसा समेट्तथे
साहु थ्यो रुपैयाँ राख्ने बाँकी ढाकर टाल्दथे

पुस्तौंका मक्किए पीठ साहुका रापले जुनी
पिठोका गाँसको सट्टा चाखेनन् अरु क्यै पनि

विकट गाउँमा आज पुग्यो विकास खासको
खोसियो बोकिने भारी खोसियो गाँस आसको

असंख्य भरिया आज झन् ठूला दुःखमा डुबे
ढिंडोका गाँसको सट्टा आँसुका गाँसमा पुगे

पुगेछ मोटरै बाटो गाउँका बिच भागमा
भरिया भोकले म¥यो कर्म वा सीपदाहमा