भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सडकै सडकमा / कुन्दन शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उफ्। सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने
एकले अर्कालाई काट्ने।
सडक र यो हिँडिरहने विवशता
कतैबाट सराप पाएको हो कि ?
कस्तो यो मन, कहिल्यै नअघाएको।
थाकी–थाकी उठेका मेरा पाइलाले
सोधिरहन्छन्, अझ कता ?
यो थकाइ,
सबै जीउभरि सरिसक्यो
तैपनि म किन नअडेकी ?
सडककै छेउमा कुनै दिन
अन्तिम थकाइमा ढल्ने सत्य मेरो।
तर सडक अझ बढ्दै जाला
नटुङ्गीकन… ।
हैन, मैले किन टुङ्गिन जानिनँ त ?
टाढा–टाढा आँखा पुर्याएकी थिएँ
आफ्नो अन्त्य खोज्न,
नपाउँदा पनि
किन अघि बढिराखेँ त्यसै।
किन ? किन ??
किन र ???
 सडक कहिल्यै खतम हुँदो रहेनछ
एकपछि अर्को बढ्ने…
म कहिल्यै अडिँदो रहिनछु
थाकेर पनि,
सधैँ नयाँ थकाइतिर लम्किने।
थाहा छ मलाई, अन्त्य मेरो
अन्त्यहीन सडकमा हुनेछ ।
अनि यात्राको यो विवशतालाई

घर, सहर र विश्व बनाई
सधैँ नयाँ अर्थ दिन खोज्छु।
नयाँलाई पुरानो पारी
फेरि नयाँतिर लम्कन्छु।
कसरी भनूँ म
मेरो हिँडाइ अर्थहीन छ ?
‘अर्थ’ खोज्नै त म हिँडिरहिछु—
यो रित्तो मनको,
यो हिँडिरहने विवशताको,
र ‘हो’ र ‘हैन’
दुई विरोधी सत्यले ठगिएको
जीवनको।
प्रत्येक ‘किन’ ले मलाई अघि सारेको छ,
म जहाँ थिएँ
त्यहाँ म छैन ।
म जहाँ छु
त्यहीँ भोलि हुनेछैन ।
‘किन’ को अन्त्य ‘अघि’ हुन्छ
अनि प्रत्येक ‘अघि’ ले फेरि ‘किन’ ल्याउँछ ।
सडक कहिल्यै खतम नहुने
म जहिले पनि हिँड्न खोजेर;
म जहिले पनि हिँडिरहने
आफैसँग हारेर ।
एउटै घेराले मलाई
बाँधिराख्न कहाँ सक्यो र ?
मैले बाँधिएर बस्नै पनि कहिले मानेँ र ?
 सडक कहिल्यै खतम हुँदोरहेनछ
……………………………………
एकले अर्कोलाई काट्ने।
मैले सडक बनाएँ
हिँडिरहन— नयाँका लागि बढिरहन ।
तर मेरो प्रत्येक पाइलाअगाडि
फेरि यो तगारो किन ?
मलाई अड्याएर
किन मागेको विवरण मैसित,
मेरो हिँड्ने विवशताको ?
मेरो रित्तिँदै गएको मनको ?
र यो हाँसोउठ्दो जीवनको ? … ।