सन्तान / सानु शर्मा
चुच्चोमा अलिकति माटो बोकेर
जब
स-साना चराको एक जोडी
हाम्रो घरमा छिर्यो
मैले उत्सुक हुँदै आमासँग सोधेँ-
‘आमा ! यी किन आएका हाम्रो घरमा ?’
‘घर बनाउन’ आमाले भन्नु भएथ्यो ।
मेरो बाल्यदैनिकी बन्यो मेरो –
ती चराहरूको गतिविधी नियाल्नु
र उनीहरुको सुन्दर घरको
निगरानी राख्नु ।
आमाले फेरि एकदिन भन्नुभयो -
'गौंथलीले चल्ला काढेछ' ।
मैले हेर्दाहेर्दै
उड्न सक्ने भए बचेरा पनि
र कुनै एकदिन
घर छोडेर उडेका बचेरा
फेरि घर फर्केर आएनन् ।
उनीहरूले छोडेको घर जस्तै
सुनसान भयो
मेरो मन पनि ।
आमाले खुइऽऽय गर्दै भन्नु भयो -
'बचेराले गुँड छोडेछ' ।
गुँड छोड्नुको कारण
सोधिने मेरा प्रश्न सुन्दा सुन्दा
दिक्क हुनुभएकी आमाले
एकदिन झर्कंदै भन्नुभयो -
‘बचेरा ठुलो भयो,
गुँड छोड्यो,
जोडी खोज्यो र
अन्तै कतै घर बनाउन हिँड्यो’ ।
मैले दौडँदै गएर
आमालाई दरोसँग अँगाले र
दृढ स्वरमा भनेँ -
‘आमा ! म अर्को घर बनाउँदिनँ !
म कहिल्यै ठूलो हुँदै हुन्नँ !’