सन्तोष र विवेक / उमानाथ शर्मा पोख्रेल
धेरै वनोसधन किन्तु न होस शान्ति ।
मिल्दैन सौख्य वरुपर्दछ दुःख भ्रान्ति ।।
सन्तोष होस न रहोस धन प्रशस्त ।
आनन्द दिन्छ र गराउँछ सोहिमस्त ।।१८१।।
सन्तोष राखि मनमा दुइटा इ गोडा ।
सच्चा म भन्दछु, हिँडेपछि वग्गि घोडा ।।
ठान्छू गुफाकन ठुलो दरवार जस्तो ।
पैसा न पाउँ तर भंदछु योछ सस्तो ।।२०२।।
जस्तै भयेपनि लुगा म त भन्छु आहा !।
क्याछन् सफा म अरुमा गरदीन चाहा ।।
आवोस दुःख अति आउँछ बार बार ।
आनन्द कै म गरुला मनमा विचार ।।२०३।।
यस्तो विवेक जसका मनमा रहन्छ ।
हूँ भाग्यवान् म भनित्यो निजलाई भन्छ ।।
गर्ला कसोरि अपराध उ धीरचित्त ।
सन्तोषनै विभव हो सुखका निमित्त ।।२०४।।
तृष्णा रहन्छ उति नै जति खाउ लाऊ ।
मर्दा प्रशस्त धनको रति छैन भाऊ ।।
यो जान, संझ भवमा रति छैन सत्व ।
सच्चा विरक्ति लिई खोजन लाग तत्व ।।२०५।।
लागेन राशि धनको भनि धेर तर्क ।
भाई न लेउ छ भनेर पनि न सर्क ।।
आखीरमा धनि गरीब सबैथरी को ।
तोडिन्छ भेद जब लाग्छ दशा ननीको ।।२०६।।
जस्तो जहाँ जुन जती व्यवहार पर्छ ।
कस्ता प्रकार सँग सो गरिने ठहर्छ ।।
त्यो नीति-पूर्वक थपक्क गरेर खाली ।
सन्तोषकै भरपरी बस धर्म पाली ।।२०७।।
स्त्री पुत्र धान्य धनका बीच जोछ मोह ।
सो तोड, छोड रिपुका सँग जोछ द्रोह ।।
संसारका सकल झंझटमा परेर ।
आनन्द पाउँछु भनी नचिताउ हेर ।।२०८।।
आकाशमा घुम उडेर यथेच्छ चाहे ।
पाऊ त्रिलोक भरको धनराशि चाहे ।।
आनन्द छैन तिमी जे गर काम रोजी ।
आफै बताउ, कुन चाँहि छ खूबमोजी ।।२०९।।
त्यो हो सुखी सकल टंजछ चाहिये को ।
त्यस्को, भतेर अरुलेछ कुरालिये को ।।
सोही बरा मन मनै कति ताप लिन्छ ।
बेचैन भैकन धुरु धुरु भित्र रुन्छ ।।२१०।।
जो बाहिरी विभवका भरमाछ नित्य ।
त्यो जीवनै भर सुखी वनदैन सत्य ।।
यद्वा खुसी सरि कुनै अरुले बुझिन्छ ।
हे मित्र ! त्यो भ्रमविना अरु के कहीन्छ ।।१२१।।
यद्वा भनोस् अहह ! हूँ म सुखी भनेर ।
प्राणी कुनै विषयपङ्ग महाँ डुलेर ।।
त्यो बाँधियेछ अब मोहमयी लताले ।
पार्ला विचल्लि उसलाई कडा व्यथाले ।।२१२।।
संसारि कामतिर मात्र सबे उमेर ।
सुम्पी नफाल यसरी नर-जन्म खेर ।।
राख्दै नराख मनमा धनको महत्व ।
सच्चा विरक्ति लिइ खोजनलाग त्तव ।।२१३।।
कामादि शत्रुहरु लाई समूल मारी ।
निन्दा-स्तुति प्रभूतिमा मन एक पारी ।।
मेरो महूँ भनि न राखि कहीं ममत्व ।
सच्चाविरक्ति लिइ खोजनुपर्छ तत्व ।।२१४।।
देख सिखी गरि खरानि घसेर मात्र ।
त्यागी सरी वनि नहौं उपहास पात्र ।।
होत्याग बुद्धिमनको दृढ भित्रिकर्म ।
झोली भिरे पनि इनैहुनुपर्छ धर्म ।।२१५।।
तृष्णा हटोस मन बाट जरै समेत ।
एकाग्र निर्मल असक्त बनोस चेत ।।
यस्का निमित्त मिहिनेत गरौ अतीव ।
त्यस्तो भयो त बुझ मुक्त भयौं सजीव ।।२१६।।
यी बातलाई बुझ सत्य भनेर प्यारा ! ।
यस्तै विवेक लिइ काल विताउ सारा ।।
अभ्यास तर्फ मन लाई लगाइ हाल ।
संसार तर्फ फसि जीवन यो नफाल ।।२१७।।
सत्सँग तर्फ अब लाग समाल बुद्धि ।
चर्चा सुशास्त्र हरुको गर लेउ शुद्धि ।।
जस्वाट नित्य सुख मिल्दछ त्यो कुरामा ।
लौ लाग गर्न सखिहो ! दिनरात धामा ।।२१८।।
जुन् उत्तरोत्तर बढी रहँदोछ फेरी ।
जुन् दिन्छ शान्तिकन पूर्ण न लाई देरी ।।
त्यो सौख्य पाउँन उपाय सधैं तलास ।
हुन्छौं अनित्य सुखका किन नित्यदास ।।२१९।।
देहाभिमान नलिई ममता हटाई ।
आडम्बरी नभई ज्ञान जटा जुटाई ।।
निःस्सीम सौख्यद चराचर काविधाता ।
श्रीशम्भु मा गरसखे ! अवगाढ नाता ।।२२०।।
सत्कीर्ति हुन्छ अति विस्तृत लोक भित्र ।
आनन्द मिल्छ मन माफिकको विचित्र ।।
हे मित्र ! यो सुखछ शाश्वत यो जमाउँ ।
अर्को थरी विषय सौख्य सबै हटाऊँ ।।२२१।।