सन्ध्या / लक्ष्मीप्रसाद देवकोटा
ललितपुरको हाइ–कलाको शिल्प–कोविदले छिनो
मन्त्रियो कस्तो कमाल !
सन्तुलित कोमल चिनाले, बुट्टा कस्ता बान्कियो लौ !
वाष्प–मरमर माथि लाल !
वसन्त–महलमा आदिकालीन
पश्चिमा भो आँखीझ्याल !
चन्द्रागिरि माथि विशाल !
जलपियो क्या ! सुनले त्यल्ले झल्ल पारी !
खोपी भो राम्रो तयारी !
अस्ताचलको यात्री छु म !
कल्पनाको पङ्खमा छ मिठो भुरभुर !
भावमा क्यै खल्लीबल्ली !
समयको लामो सडक छ !
युगहरु छन् गल्ली, गल्ली !
मेरो आत्मा, एक दर्शक,
खोज्छ सुन्दर, हल्ली, हल्ली !
गवाक्षका बुट्टापछाडि कसको त्यो अनुपम वदन ?
जसका मीठा दृश्य–टुक्रा गाँसी, गाँसी,
झल्याक–झुलुकहरु, कल्पनाले
चकित दिल यो खूब विलासी !
सम्झनाभन्दा पुरानी, के हुन् ती सौन्दर्य रानी ?
आदियुगकी राजदासी ?
धप्प बल्दी, एकलासी ?
अमरवयसी ? प्रेम–प्यासी ?
बुट्टिएका बारमा ती, स्वर्गको दरबारमा ?
वसन्त अन्तःपुरमा आज,
श्रृङ्गारमा ?
गाजलबट्टा रातो खोली लामा कोसमा लाउन तत्पर
छन् कि ? स्वपनी आफ्नो दिलको,
प्रेम–सुन्दर ?
कृष्ण–केशी ! केश फुहुन्छयौ ? जाली पार्न ? रत्न भर्न ?
हृदय हर्न ? विजय गर्न ?
सिम्रिकको वसन्त–भास्कर तुल्य चहकिलो टीको
चट्ट जड ए ! भालमा !
थोरै पानीले पुछयौ जो चट् ! यो आँखीझ्यालमा !
ऐनाअगाडि, निहुर, अड !
विजयशक्ति जाँच मुस्की !
मस्त होऊ, क्यै तरङ्गी, लाली फुस्की !
थोर मेट, थोर थप रे !
कल्प केही रे बराबर !
सङ्गीतकी आत्मा सरि,
अर्धलज्जिता ! गुनगुनाऊ,
सुन्दरी !
हिमालले बाफले बुनेको
पातलो, झमक्क झर्दो, झिसमिसको यो तुँवालो,
थोरै सितारे चादर उचाल ! आँधी जूरो माथि डाल !
कालो तिम्रो केश छ !
अमरावतीको कुन झाँगमा पर्खिने सन्देश छ ?
प्रियतम राजा चन्द्रको ?
उक्लँदा छन् यो हिमाली, वन–कराली, चोर–चाली,
अरण्यमा यो अरुन्धतीको !
आदिकालीन ए परी !
प्यार तिम्रो गर्छ जसको सम्झनाको लाल अभिसार !
त्यो अमर, सदा युवक, औ कीर्तिशाली !
त्यो अनिर्वचनीय शौकीन,
राजामा मेरो नमस्कार !