भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सपनाको पहाडमा ऐठनको पहिरो / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सबै सपना देख्छन्
सपना निंद्रामा देखिन्छ
सपना बेहोसीमा देखिन्छ
सपनाको आफ्नै रङ र स्वाद हुन्छन्
सपनाको आफ्नै पहिचान र गन्तव्य हुन्छन्
सपना अनौठो हुन्छ
सपना अविश्वासी हुन्छ
धेरै निदाइयो भने
कहिलेकहिँ सपना ‘सिनाम’ मा पहिरो जान्छ
र कावेलीको दोभानमा थुप्रिन्छ
असंख्य समवेदनाहरुको उत्तिसघारीमा मुख छोपेर
उता ‘हाङदेवा’
सपनाका पहिराहरुले पहिराका गीतहरु गाउँछ
बटुवाहरु सपनाको लेखाजोखा गर्छन्
रातको प्रथम प्रहरको सपना
मध्यरातको सपना
बिहानीपखको सपना
सबै–सबै सपनाका निंद्राहरुले जीवनमा आफ्नै सपना कोरेको छ
सबै–सबै सपनाका बेहोसीहरुले जीवनमा आफ्नै गोरेटो खनेको छ ।

तर
आजराती मैले एउटा सपना देखेँ
शायद गर्मीले होला,
अखबारमा देश निस्सासिएर होला,
म छट्पटिँदा छट्पटिँदै एक झमक निदाएछु
सपनामा
थुप्रै मान्छेहरु रङ्गीबिरङ्गी तोरणहरु बोकेर
नानाथरिका मुखुण्डोहरु ओढेर
जोडसँग कराउँदै थिए
जोडसँग चिच्याउँदै थिए
पौँठेजोरी खेल्दै थिए
लाप्पा खेल्दै थिए

म सपनाको दैलो बिस्तारै उघारेर
एउटा दाउ छोप्दै थिएँ
म सपनामा
मेरो निम्ति
मेरो सपनाको निम्ति
चुपचाप कसैलाई नसोधी
गहिरो खाडल खनिरहेथे
सीमास्तम्भहरु ढलिरहेथे
हिमालमा हिमपहिरो बगिरहेथ्यो
म आपैmले खनेको खाडलमा गाडिन लाग्दा
म आपैmले देखेको सपनामा थिचिन लाग्दा
झल्यास्स ब्युँझेछु
मलाई थाहा थिएन
सपनामा ऐठन पनि परिँदो रहेछ ।

यी सब सपनाका पहाडहरु हुन्
कोही उकालो चढ्दै छन्
कोही ओरालो झर्दैछन्
उकालो चढ्ने र ओरालो झर्नेका सपनाहरु फरक हुन्छन्
सपनाहरु नितान्त एक्ला हुन्छन्
सपनाहरु अँध्यारा रहस्यमयी हुन्छन्
सपनाहरु कहिल्यै पनि अँगालो हालेर प्रणय गीत गाउँदैनन्
सपनाहरु कहिल्यै पनि हात समातेर बिपनाको गीत गाउँदैनन्