भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सपना / हेम हमाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



म सधैँ
बसाइँ सरेको सपना देख्छु
नयाँ गाउँमा पुग्छु
इँटा जोडेर नयाँ घर बनाइरहेको हुन्छु
कता हो कता

पहाडको टुप्पामा
युक्लिप्टसको रूखको फेदलाई
अङ्कमाल गर्न पुग्छु
त्यतिखेर मैले नयाँ पोसाक फेरेको हुन्छु
यस्तैमा कुइरो लागेर
सबै थोक ढाकेको देख्छु।

सेतो गुलाफमा
बिस्तारै रातो रङ चढ्दै आएको देख्छु
नीलो क्षितिजमा
इन्द्रेनीले रङ भर्दै गरेको देख्छु
अरू कसैकी भइसकेकी प्रेमिकाको सपना देख्छु
हिमनदीमा
रमाइलो मान्दै चिप्लेटी खेलिरहन्छु।
जतिपल्ट घिस्रेर तलसम्म पुग्छु
उतिपल्ट हिमालको टाकुरामा पुगिसक्छु
म सधैँ सेतो घोडा चढेर
पहाड उक्लिरहेको हुन्छु।


म सधैँ सपनामा
साँध–सीमाबिनाको
नाम नभएको देशमा पुग्छु
बिनानामका मानिसहरूलाई भेट्छु
 बाटा–बाटामा
आँखाहरू मात्रै
हातहरू मात्रै
कहिले खुट्टाहरू मात्रै भेट्छु।

कुनै–कुनै मानिसको मुटु
छातीबाहिर लत्रेको देख्छु
कसैको हातभरि गिदी
कसैको हातभरि हात
र कसैको मुटुभरि पेट देख्छु।


म सधैँ सपनामा
हिँड्दाहिँड्दै मान्छे
बाटामै बिलाएको देख्छु।
सडक मानिसमाथि दौडिरहेको देख्छु
सहरभरि खोलैखोला भुमरी परिरहेको देख्छु
त्यस खोलाले
मानिसको इमान र सम्मान बगाएको देख्छु।

म सधैँ सपनामा
आकाश ढाकेर सलह आइरहेको देख्छु
बादलैबादल मिलेर एउटा देश बनेको देख्छु।

आकाश अनादिदेखि
सबै मानिसका लागि—
एउटा अन्तहीन अन्तरिक्षमा
म सधैँ सपनामा
निल आम्र्सट्रङका
पैतालाहरूको छाप देख्छु।