भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

समयका पानाहरू / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अनन्त भविष्यबाट चुँडिएका विशृङ्खल घटनाहरू
अतीत भइरहेछन् निरन्तर – निरन्तर ........
घटनाबद्ध जीवन रेखाहरू
अदृश्यहुनबाँकी स्मृति पलकहरू
बनिरहेछन् हृदयविदारक घाउहरू ।
दौडिरहने वर्तमानले निरन्तर चुँड्दछ अन्तरङ्ग भविष्य
र थन्क्याउँछ विस्मृत मानसपटलमा ।
जन्मदै मर्दै गर्ने टुक्रा टुक्रा अतीतहरू ,
अतीत बनेका वर्तमानहरू
झरी पछिको कुहिरो जस्तै,
पड्किएको बारुदको धुवाँ जस्तै,
बिहानी पहरको उल्का जस्तै,
निस्कन्छन् अनि फुस्स बिलाउँछन् कतै ।
एक फुस्का श्वास पनि नअँचेट्ने
अविच्छिन्न टुक्रिने ‘अहिले’ लाई
निल्दै ‘भूत’ बनाउँछ बलिस्ट अतीतले–
मात्रै विस्मृतिमा हराइदिन ।
भोगिरहेको वर्तमान पनि
पलभरमै हिजो, पोहोर र उहिलेको
अदृश्य आकासमा बिलाउँदै जाँदा
जोडिन लागेझैं हुन्छ एउटै बिन्दुमा ‘मृत्यु’ र ‘जन्म’ ।
अनि लाग्छ – पखेटामा जन्मेर छिचिमिरे जीवन भोगीरहेको–
उत्तराधुनिक मान्छे
सौन्दर्यपूर्ण होइन ,
अत्यास लाग्दो देखिन्छ ।