भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
समय / जगदीश घिमिरे
Kavita Kosh से
सङ्घर्षको जुवामा जोतिँदा–जोतिँदा
जब मान्छे एक छाक खान पुग्ने हुन थालेको हुन्छ
अनि तिमी उसको दाँत फुकाल्न थाल्छौ
पराजय र धोकाको अग्निपरीक्षाबाट गलेर
जब मान्छे बल्लतल्ल देख्न र चिन्न थालेको हुन्छ
तिमी उसको दृष्टि खोस्छौ
जीवन जहाँ मात्र बुझिन्छ र मात्र बाँचिन्छ
जन्मेदेखि जहाँ केवल सिकिन्छ, सिकिन्छ, सिकिन्छ
र कहिल्यैपनि जानिँदैन
जहाँ, जब अलि–अलि जान्न थालिन्छ
जहाँ, जब अलि–अलि बाँच्न थालिन्छ
तिमी ठहर गर्छौ वृद्ध भएको
अनि तिमी मृत्यु दिन्छौ
समय, तिमी कति निष्ठुरी छौ।