भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

समर्पण / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हे मेरा भाइ! हे मेरा बहिनी! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा।
अरु ता मैले के गर्न सक्थेँ! अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको।
जो मैले गुँथेँ पहिर भाइ! पहिर बहिनी!
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि।
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी।
नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ,
आँसुको जाल डालीमा हाली विन्दुले रसाए,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,
कल्पने माली, अम्लान कुसुम,
एक डाली गुँथी, गलामा फाली,
जोड्दछु हात हे भाइ-बहिनी! बास्नामा रसाए,
दिलमा खुशाए
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन
आनन्द मेरो लखगुना होला सकारे समर्पण!