समस्यापूर्ति /शम्भुप्रसाद ढुङ्गेल
वचनका रचन्मा फसेको छु आज
तिमीदेखि क्यै छैन मेरो इलाज ।
कडा इश्कका आँचले चित्त भूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१।।
मुहार्को जुहार् चम्किलो देखि आयें
गलामा गलालाई क्यै दिन् मिलायें ।
दिंदा मुख् फिरायेर दिल् आज टूटयो
तिमी तीमि भन्दा घरैबार छूट्यो ।।२।।
तिमी कस्ति हो के भयो छेड गर्ने
लियौ चाल कुन् प्रेमिको दम् नभर्ने ।
अकेला हुँदा चोरले चित्त लूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।३।।
तिमीलाई मैले दियें दिल चढाई
तिमीले दियौ वेरहम् भै डढाई ।
थियो प्रेम एक् त्यै पनी आज टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।४।।
हिंडेको थियें प्रेमले भै दिवाना
भुलेको थियें चाल चल्ने जमाना ।
हरे आज झन् कर्मको हाँडि फूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।५।।
फुल्यो फुल भनी भैरहेको छु श्यामा
नबोलुन कुनै पट्टु हाँगाविंगामा ।
जुटेको थियो दिल कहाँबाट टुटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।६।।
गलामा परेको छ आज्काल फाँसी
नबोलने भये क्वै पनी हाय ! हाँसी ।
नहेर्दा कलेजा भई चूर टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।७।।
न खानामहाँ जान्छ मन् आजकाल
न सुत्छू न बोल्छू म छू वेवहाल ।
अरुको मुहव्वत् पनी आज टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।८।।
गृहस्थी हुने गर्दथें खुब् इरादा
डढें प्रेमको आँच लागेर ज्यादा ।
कहाँतक् भनूँ आज संसार टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।९।।
विधाता अती निर्दयी गर्छ काम
भयेको छ झन् आज मैदेखि बाम ।
बनेको थियो भाग्यको खेल टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१०।।
नगर्ने भयौ निष्ठुरी बोलचाल
बिरानी सरी भैगयौ आजकाल ।
यसैले भई काँच झैं चित्त टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।११।।
कहाँतक् फिराऊँ वियोग्को म माला
भयेको छु यस् चालले विध्न हाला ।
निठुर् दैवले हाय ! सर्वस्व लूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१२।।
हँसीलो मुहार् देख्न पाउन्न कैले
सहन्छू विपत् पर्छ जो सब् करैले ।
तिमी निष्ठुरी भैदिदा कर्म फूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१३।।
लहड् गर्नु ता मर्नु भैगो मलाई
भये फूल् पनी चित्त छाड्ने जलाई ।
न मर्नू न बाच्नू भयी चित्त टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१४।।
अलक्ले डसायेर मेरो कलेजा
तिमी धस्तछयौ निष्ठुरी ! आज नेजा ।
कहाँतक् सहूँ दुष्टले चित्त लूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१५।।
रहम्को तिमी नामसम्मन् नलीले
कलेजा निकाली छिया पारिदीने ।
भनूँ गै म कस्लाई दिल् आज टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१६।।
मलाई थियो आश भेट्घाट गर्ने
डुली बागमा चित्तको ताप हर्ने ।
दियौ प्यारि ! धोका विपत् आइ टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१७।।
न भेट्घाट स्वप्नामहाँ हुन्छ कैले
गली सड्न लागीरहेछु यसैले ।
वियोगी हुँदा ववैलिले चित्त लूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१८।।
लिने रस ममाथी रती छैन मौका
मदन्ले लगाईसकेको छ चौका ।
दया राखि यो जोडिद्यौ चित्त टूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।१९।।
हरे ! बित्न लाग्यो यसैले जवानी
घसूँ की जटा पालि ज्यूभर् खरानी ।
थियो खप्परु त्यै पनी आज फूटयो
तिमी तीमि भन्दा घरैबार छूटयो ।।२०।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)