सम्झनाका पानाहरू / विष्णु न्यौपाने
तिमी फैलिएरै अझै मात खोज्यौ
सबै रात खोज्यौ अझै प्रात खोज्यौ ।
अँगालो भरेरै बगें लाज आफैं
झरीझैं चुहेको थियो बैंस आफैंैं ।।
(१)
सधै कल्पनामा झुमी कुत्कुतिन्थें
वितेका तिनै यादका मात चुम्थें ।
म भाग्दा नभाग्दै लघाथ्र्यौ तिमीले
म अड्दा अँगालो भरिन्थ्यौ तिमीले ।।
(२)
उघारेर पर्दा म च्याएँ छु भित्र
परेली त झिम् झिम् बनायौ पवित्र ।
चलेकै चलन् थ्यो परापूर्व देखि
जवानी छचल्क्यो दुबै आत्म देखि ।।
(३)
कहानी बनेका तिनै मात सम्झी
बिहानी बनिन्छन् सधैं रात ब्यूँझी ।
अहो ! भाग्य भन्दै म बैराग्य हुन्छु
उनै सम्झनाले गला फेरि धुन्छु ।।
(४)
दबेछन् नसामा अझै जोस नौला
उनै रात नौला उनै छन् रुपौला ।
बिहोसी बनेका जवानी तरङ्ग
थपी राप खोज्छन् अझै अङ्ग अङ्ग ।।
(५)