भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सम्पूर्णता / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

माटो हुँ म
माटो हौ तिमी
र यो संसारको सबैभन्दा बलियो मान्छे
माटो हो ऊ पनि !
 
पुर्खाहरूले माटोकै पूजा गरे
र हामी सम्मानित भयौँ
सहिदहरू माटोकै निम्ति बलिदान भए
र हामी गौरवान्वित भयौँ
 
माटोको टीका लगाउनेहरूकै
सबैभन्दा गाढा भयो मुटुको रङ !
 
माटोले रचेको छ सृष्टिको सबैभन्दा सुन्दर गीत
माटोले भरेको छ प्रकृतिमा सबैभन्दा मीठो सङ्गीत
माटोले जन्माएको छ सृष्टिकै सबैभन्दा मधुर गायक
 
माटोको कोखबाट जन्मिएको
सबैभन्दा कर्मशील सन्तान-
खोला !
हरदम गाइरहेछ ऊ जीवनको गीत ।
 
माटो आमा हुन्
कहिले तराई भएर आफू पहाड जन्माउँछिन्
कहिले पहाड भएर आफू हिमाल हुर्काउँछिन्
उनकै कोखबाट निस्किएका छन् गायक खोलाहरू
र उनैले देखाएको बाटोबाट अघि बढ्छन् !
खोलाहरू आमालाई गुरु मान्छन् ।
 
खोला छ र त सृष्टिको सौन्दर्य छ
माटो छ र त आमाको वात्सल्य छ
आमाको ममताको कुनै भेद हुँदैन
सन्तानका स्वार्थले बनाउला आमालाई
दोयम, सिम अनि चाहार
तर खोला !
अब्बल राख्न चाहन्छ आमाको काख
 
सागरको तृष्णामा मैलाउँन चाहँदैन आफ्नो इतिहास
ऊ बग्न चाहन्छ माटोको सुगन्ध लिएर
आमाको आशीर्वाद लिएर
शाश्वत राख्न चाहन्छ आमाको सम्पूर्णता
र आह्वान गर्छ कलकल ध्वनिमा-
 
खोला हुँ म,
खोला हौ तिमी,
संसारको सबैभन्दा बलियो मानिस
ऊ पनि खोला हो
हामी प्रत्येकमा आमाको अंश छ
त्यसैले हामी माटो पनि हौँ ।