भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सम्बन्ध / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


औपचारिक रुपमा
सम्बन्ध बिच्छेद पछि
तिमीसँगको मेरो सम्बन्ध
झनै प्रगाढ भएर आएको छ
 
हामी जव सँगै थियौ-
सबै उस्तै र एकनास थियो
उही आकाश, उही परिवेश
र, उही पदचाप थियो
पहिलो पहिलो सम्बन्ध भएर होला
हाम्रो एउटै हेराई थियो, एउटै भोगाई थियो
 
आज तिमी मसँग छैनौं
र,म कोही अर्कैसँग जीवन बिताइरहेको छु
फेरि पनि तिमी
मेरो वरिपरि छाएकी छयौँ
उ बोल्दा
म तिम्रो बोल्ने ढङ्ग सम्झन्छु
उ, लजाउँदा
तिमी लजाउँदा देखिने
तिम्रो गालाको रङ्ग सम्झन्छु
निहुँ खोज्ने र रिसाउने कुरा मात्र होइन
खुसी जताउने
र, फकाउने तौर-तरिकामा पनि
पटकै पिच्छे
उसँग तिम्रो तुलना गर्छु
जत्तिखेर म्वाई साटिरहेको हुन्छु म उसँग
र, त्यसबेला पनि
सरिरभरि तिम्रै स्पर्श अनुभव गर्छु
उसले सिँगारपटार गरिरहँदा
 
त्यही श्रृङ्गारमा
तिम्रो रुपको कल्पना गर्छु
 
उसँग जोडेको हुँ नि मैले नयाँ सम्बन्ध
उल्टो-
तिमीसँगको सम्बन्ध पो नयाँ भएर आएको छ
मैले नचाहेर के गर्नु?
उसँगको मेरो सम्बन्ध
च्याम्पटी जस्तो
फन्फनी !
अहिले तिम्रै वृत्तमा घुम्ने गरेको छ
 
यद्यपि कुनै उपादेयता छैन
जान्नु वा नजान्नुमा
मनकै कुरा त हो
फेरि पनि जान्न मन लागेको छ-
के तिम्रो जीवन
मैले भोगे भन्दा फरक छ?