भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सम्बोधनमा मित्र रामविलास / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मित्र रामविलास !
चढ्दा चढ्दै दुखको दुःसाध्य पहाड
सधैँ सम्झिन सकिनँ होला
तिमीसँग खाडीमा बाँधेको मित्रता,
सकिनँ होला सधैँ सम्झिनँ
सँगै काम गर्दा हामीले साटेका दुखसुखका कथाहरू
त्यहाँ हाम्रो मित्रता न पहाडी थियो न मधेसी
देश फर्किएपछि
म यो जब्बर पहाडसँग लडिरहेछु जीवनको युद्ध
तिमी सुख्खा फाँटसँग लडिरहेछौ तृष्णाको लडाइँ
हामी दुबै उस्तै दुखिया हौँ रामविलास !
मलाई शासक नभन ।

तिमीलाई थाहा छ रामविलास !
हिमालमाथि उडेका चरा
र त्यसमाथि उडेका बादल हेर्दै हुर्केको हुँ म
भिरमा उभिएका लाली गुराँस
र, त्यसैको छेउबाट उकालो लागेको उकालो उक्लँदै
त्यतैबाट ओरालो लागेको ओरालो ओर्लँदै
त्यतैको पानी ऐनामा आफ्नो अनुहार हेर्दै
त्यतैका बतासमा जीवनका सुरहरू सुसेल्दै
आइपुगेको हुँ म यहाँसम्म ।

मैले बिर्सेको छैन-
ग्रीष्मपछिको पहिलो वर्षासँगै
मकैबारीबाट उठेको माटोको सुगन्ध
ख्यालख्यालमै रहरले
बारीको डिलमा रोपेको आरुको बोट
त्यो बोटसँगै आफूभित्र कतै हुर्कँदै गएको अभिभावक बोध
समय क्रममा आरुका फूल बनेर मनभरि फुलेको हर्ष
पहिलो चोटि ठेस लागेर रगतले भिजेको माटो
धुले पाटी बोकेर पहिलो पल्ट
स्कुल टेक्दाको उत्सुकता र डर
प्रथम पटक गरेको दोस्ती र झगडा
र जीवनकै खतरनाक अनुभव त्यो पहिलो प्रेम
कसैको विरोधमा पहिलो चोछि उठाएको हात
र कसैको र्समर्थनमा बजाएको पहिलो ताली
केही बिर्सेको छैन रामविलास !
र, त्यही नै लेख्दै आएको छु आजसम्म कवितामा ।

बिर्सेको छैन रामविलास !
कहाँ छ म उभिएको धरती
कहाँ र कति तलसम्म गाडिएका छन् मेरा जराहरू
समयको हुरीले खसेर आज आफ्नै रुखबाट
हावामा उठ्दै उठ्दै म त्रि्रो छेउ आइपुगेको मात्र हुँ
माटोको बास्ना त उस्तै नै छ यहाँ पनि
र पनि, तिमीले भने जस्तो
म लेख्न सक्दिनँ तिम्रा दुखका कथा मेरा कवितामा
तिम्रा दुखको गहिराइ तिमीलाई मात्र थाहा छ
त्यसैले, डुब्न सक्दिनँ म त्यो गहिराइमा तिमी जसरी
र म उतार्न पनि सक्दिनँ तिम्रा पीडाहरुको वास्तविक तस्बिर
तिम्रा दुखको आधिकारिक दस्ताबेज
तिमीले नै लेख्ने हो रामविलास !

मसँग भिरमा मुसे खरुकी काट्दा
चिप्लेर घुँडा फुस्केको अनुभव छ
म त्यही लेख्छु
तिमीसँग पैनी छेउमा इकडी काट्दा
ढोडिया साँप कुल्चेको अनुभव छ
तिमी त्यही लेख
त्रि्रा सुखका सपनामा
जमिनदार र्सप जस्तै कुन्डली मारेर बसेको छ
मेरा सपनामा दाइँ गरिरहेछ हुक्के डिट्ठा
तिमीसँग खडेरीले मन डढाएका पीडा छन्
मसँग तुसारोले मन ठिहिर्याएको दुखेसो छ
तिमी लिचीको बोटमुनि गोमनसँग सन्त्रस्त छौ
म चिउरीको बोटमुनि चितुवासँग डराएको छु
हरेकका आफ्नै पीडा छन्
ती पीडाका सौर्न्दर्य पनि त
आफ्नै खालाका छन् नि रामविलास !

भन रामविलास !
हिमालका सेपा दाजुले हिउँ र हिमाल नलेखे
पहाडको मैले डाँडा र पाखा नलेखे
तर्राईको तिमीले गर्मी र लु नलेखे
तिमी नै भन-
कसरी लेखिन्छ हाम्रो सिङ्गो देश ?