सहरको किनारामा / गीता त्रिपाठी
यी बचपन र जवानीका बीच
जवानी र बुढ्यौलीका बीच
यो सहर मै जस्तो रोगी, बूढो र असहाय बन्दै गएका बेला
तिमी निर्वासनबाट फर्किएकी छोरीझैँ
अकस्मात् आयौ यो सहरमा
रङ र कुची थिएन मसँग
मात्र थियो सबैभन्दा गाढा मुटुको रङ
र त्यही रङको प्रिय क्यान्भासमा
पोति दियौ प्रेमका अप्रतिम बान्कीहरू
जे जे गुमाएकी थिएँ
ती सबै तिमीले उस्तै गरी फर्काएकी छ्यौ
परेवाहरू खेलिरहेको चोक
साधुहरू हिँडिरहेको धाम
आनन्द बुद्धका विश्राम स्थल र
चलचित्र घरका रोचक चहल पहलहरू
नो पार्किङमा अडिएकी छु म
तिम्रा जीवन गीतका हरफहरू च्यापेर
यहीँबाट उँड्दै छन् परेवाहरू
यतै छेऊमा तन्किएका छन् जीवन टाँगिएका तारहरू
म सुकाउँदै छु धोएर हिजोको दाग
मभित्र एउटा आधुनिक धोवी चौर
घाम थापेर मुस्कुराइरहेको छ
ट्युसन सेन्टरबाट भर्खर बाहिरिएकी म
घर जाने बाटोमा
अलिकति उज्यालो पर्खिरहेछु
दृश्यहरू आर्ट ग्यालरीझैँ सम्पन्न छन्
म आँखाभरि तिनै सम्पन्नताहरू बिसाएर उभिएकी छु
मेरो स्मृतिमा व्याप्त छ
तिमीले सम्पन्न बनाएको यो सहरमा
स्वप्नमय लेखिका
सन् २०११ सेप्टेम्बर १७ को अलौकिक अपरान्ह-
कृष्ण मन्दिर, अलका सरावगी र डुब्दै गरेको घाम
मेरो हातमा छ उनैले हस्ताक्षर गरेको
उनैको नवीनतम उपन्यास- इक ब्रेक कि वाद अर्थात्
एउटा अन्तरालपछि
कुर्ची ! म फेरि दोस्रोपटक यो सहरमा
तिमीसँगै जन्मिएकी छु- एउटा यही अन्तरालमा
तिम्रो लिभिङ हेरिटेजलाई चियाउँदै
तिम्रै आर्ट ग्यालरीको बन्द झ्यालनिर उभिएकी छु
भन
कहिले मुक्त गर्छ्यौ तिमी मलाई ?
म अनगिन्ती प्रश्नहरू बोकर
सहरको किनारामा
एउटा सुझाव पेटिका झुन्डिरहेकी छु।