सहर / जीवनाथ धमला
अलिकति दुखेको निष्कलङ्क सत्य टल्किरहेछ
सहरको एक छेउबाट देखिएको अग्लो हिमालमा
अलिकति नियास्रो बाध्यता घुमिरहेछ
घण्टाघरका सुईहरूसँगै सडकहरूमा
एउटा एकान्त झुल्कन्छ साँझका बत्तीहरूसँगै
पशुपतिनाथको यस प्राचीन सहरहरूमा
बादलहरूको कुनाबाट एउटा दिव्य सन्दर्भ चियाइरहेछ
निश्छल रागहरूको आतिथ्य पर्खंदै, यसै सहरमा
कुन मुस्कानले म आफ्नोखुसी पोखिदिऊँ।
मान्छेका आँखाहरूमा द्रौपदीझैँ बाँचिरहेछ सहर ।।
युगौँदेखि बूढानीलकण्ठ निश्चल निदाइरहेछन्
तरङ्गहीन पानीको पातलो बिछ्यौनामा,
उपनिषद्का स्कन्दहरू गनाइरहेछन्
पर्दाभित्र कतै पौराणिक युद्धहरूमा,
सन्नाटाका टुक्राहरू चोइटिन्छन्/खन्छन्र फुट्छन्
निर्बोध मान्छेहरूका निरीह मनहरूमा,
बुद्धका आँखाहरू भत्केर पोखिएका छन्
निरग्निका ज्वालाहरूले उम्लिरहेको सहरमा
कुन फूलका सुगन्धहरू अर्पण गरूँ यहाँको नीरवतालाई
चर्केको ऐनामा रातको प्रतिच्छायासँगै
आफ्नै अनुहार खोजिरहेछ, सहर ।