भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँझ : रेखाचित्र / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


चीसो अनि गह्रुङ्गो
हात्तीको वजनसित
एक–एकवटा थामको खुटाले
मध्यदिनको प्रखरतासित टेकेर छात्तीमाथि
लुकाएको...
छोपेको...
अरुको दृष्टिमा
अनि शिरमाथि घामदेखि !
मध्यान्हमा– आफ्नो छायाँ!
अनि, पैतालाको आयतनमा राखेको
कैदभित्र
चीसो सडकमाथि !
अनि जो......
दयावश निर्बन्ध गरिएपछि
साँझ पख
अपमानले आत्तिएर
निस्सासिई आत्मग्लानिको बाक्लो बतासमा !
दिनभरिको गर्मीले उसिन्निएको बतासमा !

हाम्फाल्दै डाँडा–डाँडा.............
क्षितिजमाथिको ढुङ्गामा टाउको बजार्दछ
पहेँलिएको रगतले भिजाएर.......
पहाडको आङ,
केही टुक्रा बादल,
अनि एक छेउ आकाश !

यसरी
हीनताको चट्टानमाथि
प्रत्येक मान्छेले लुकाएको आफूभित्र
एक टुक्रा पराजित जिन्दगी....
निधार फुटाएर आत्मघात गर्दछ !

प्रत्येक दिन,
साँझ पख !
मुख छोपेर
पग्लिरहेको छायाँको वृत्तमा, धूपिको!
खस्न लागेको...
टुक्रा–टुक्रा रातसित
छानामाथि
अनि आँगनमा
अनि जिन्दगीको घोप्टो काँधमाथि ।