भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँवा खोलाको गीत / राज माङ्लाक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


भागेर फाचा हिँडेकी नवयौवना छोरी
आफ्नो लोग्नेको खुशीमा जिन्दगी नै समर्पण गरेर
कहिलेकाहीँ मात्र माइतघर आउने बाध्यताको पछ्यौरीले ढाकिन्छे
सबै सबै भावीको कर्म उतै बिसाउन हिँडेकी
साँवाखोले ठूली
बाल्यकालको स्मृति मात्र
यहीँका गोठाला – खेतालालाई सुम्पिएर कहाँ हिँडिन् खै !

वारिपारिबाट
दुःखका खहरेहरु साउने भेलसँगै ओर्लिन्छन्
बा–आमाले दिएका आशीर्वादको थैलीमा
कहाँ निधारभरि भाग्य लेखिएछ भनेर
ऐनामा कोरीबाटीसँगै कत्ति हेरिबस्छिन् तर देख्दिनन् ।

माथि सेहोनाम्लाङ र तुम्बेवाडाँडा जस्ता
बाबु–आमालाई एक्लै विरक्त छाडेर
छैटीको कर्मलाई पूरा गर्न हिँडेकी ठूली
तल,
सहेंलीहरु धुपिङ्, आङ्ना र खाल्लेसँग
बैंसको उन्मादमा दौँतरी छिमलहरु घाँसपात र मेलापात
वारिपारि घन्काएका हुन् पालामका लयहरुले ।

तर निष्ठुरी समय
उमेरको दिन गन्तीले छुट्याउँछ मानिसको आधार रेखा
आज,
आफ्नै गन्तव्यमा हिँडिरहेछन् ती दुःखका बाँसुरीहरु

अझै सुनिन्छ,
साँवा खोलाको गीत
हिँड्दै गएको पाइतालाका डोबहरुमा
खेतका आली र बगरका ढुङ्ग्यानहरुमा
सम्झनाका क्षितिजहरु र मनभित्रका कुना कन्दराहरुमा

उत्साह र रहरको एउटा वातावरण
उहिले घाटमा सेलाइ सकेपछि
दुःखका अर्थुङ्गेघारीहरु बेस्मारी हौसिएर
बाटाका कुइनेटाभरि फैलिएछन्
प्रत्येक घुम्तीहरुमा सम्झना लहलह फुल्न खोज्छ
तर,
दिनप्रतिदिन परिचयहीन बन्दै गएकी
साँवाखोले ठूली अपत्यारिलो गरी हराउँदै गइन्
प्रत्येक साउने भेलको छेउमा बसेर
सिमेक्वा चरी जस्तै
आफ्नी प्यारी आमा
भेलमा बगेकी छोरीलाई बोलाउँदै
वियोगले वारिपारि गर्दै रुन्छिन् ।

कि मुग्लान पुर्‍याएर बेपत्ता छाडी राखे
कि बम्बइको कोठीमा बाकसभित्र थुनी राखे
कि साउदीको मरुभूमिमा बालुवाले उसिनी राखे
कि जनयुद्धमा क. शहीद भई साइनवोर्डमा राखे

कठै !
साँवाखोले ठूली

जाँदाजाँदै
तल साँवासेरामा
एउटा गतिलो रात वियोगले छटपटाउँदै कटाएकी
साँवाखोले ठूली
यस्तरी बेपत्ता कता हिँडिन्
आज पनि सबै बूढापाकाले यही चिसो प्रश्न सोधिरहन्छन् ।