बादलको रुवाले बुनिएको कम्बलले
तल गोडासम्म ढाकेर
दिउँसैदेखि डाडाँहरु मौन सुतिरहेका छन्
आकाशको छानामा
असंख्य प्वालहरु परेछन् क्यार
त्यसैले धर्तीभरि
चुहिरहेका छन्— ढ्वाङका ढ्वाङ पानी
केही आँखाहरु
आकाशसँगसँगै अविरल चुहिरहेका छन्
निथ्रिन्न आँखाहरुको आकाश
रित्तिन्न आकाशको समुंद्र पनि
आकाशको समुंद्र
अनि आँखाहरुको आकाश
पर्याय एक अर्काको
आँखाको आकाशभरि
झलमल्ल घाम नलागेको धेरै भो
आँखाको आकाशभरि
टहटह जून नलागेको निकै भो
आँखाको आकाशमा कालो बादल मडारिरहेको छ
आकाशको समुंद्र आँधी चलेकोले छचल्किरहेको छ
साउनका दिनहरु
नाप्नै नसकिने गरि
नाप्नै नमिल्ने गरि
तनक्क... तन्किएछन् ।