भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

साउन- ३ / कलानिधि दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बढारूँ गन्ध दुर्गन्ध कुचिकार स्वयं बनी
टल्काऊँ जग स्रष्टाको बनी स्रष्टा स्वयं पनि ।
पखालूँ मनको मैलो मसीका रहमा पसी
म घुमूँ विश्वब्रह्माण्ड एउटै विन्दुमा बसी ।।

कल्पनाको बनाएर सेतो जहाजमा उडूँ
महासागरमा आफै हात फैलाई पौडिऊँ ।
कुइनाले दिई धक्का पहरो चढुँ सुस्तरी
मलाई म स्वयं पारूँ चारुको अलकापुरी ।।

म बनूँ सुरसाजस्तै फैलाऊँ मुख बेसरी
दुर्विचार सबै फ्याँकूँ उडी घुम्दै धराभरि ।
रामको नाममा अर्पी जिन्दगी पारुँ सुग्घर
कालो दाग नहोस् कैल्यै, होस् सधैँ विश्व सुन्दर ।।

मधु वर्षा बनोस् आँसु चुहाऊँ धूलिका भिजी
नपाओस् नानीमा बस्न हिलो होस् बरू जिन्दगी ।
त्यसैमा म लगी फालूँ सडेगले जति सब
र मुस्कान बनी ब्यूँझू गरुँ उत्सव उत्सव ।।

बाहिरी मोज चाहिन्न भित्री मोज भए भयो
बाहिरी हिड्नुको यात्रा नहोस् खाज भए भयो ।
हिडून्, हेरून् सबै नाचून् सुन्ने धैर्य भए भयो
साउने झरीझैँ बुँद भित्रभित्रै झरे भयो ।।

म देखूँ दिल आफैझैँ अर्को उस्तै सधैँभरि
नहोस् भिन्न कहीँ कोही बाघ, बाख्रो कुदेसरी ।
एउटै विन्दुमा राखी दुइ पाउ निरन्तर
म हेरुँ अरुकै घाउ नित्य भै दिल-निर्झ ।।

छङ्छङाए पनी आफै सल्सलाए स्वयंसँग
तुल्बुलाए पनी आफै कुल्कुलाएर रङ्रङ ।
कहिले म चढूँ माथि कहिले झरिद्यूँ तल
वहँदा म वहूँ एक्लै छरीछल्छलको बल ।।

तिर्खाका अञ्जलिभित्र अटाऊँ भई टल्पल
मुखबाट छिरी कण्ठ, कण्ठमा गरूँ कल्कल ।
पोल्ने पेट बनाएर सधैँ शीतल शीतल
साउने झरीझैँ छल्कूँ अर्काकै लागि छल्छल ।।

दृश्यमा दुःखका वर्षा भिजूँ भिज्न सके जति
अनन्त हेर्न सक्नेले देखून् देख्न सके जति ।
भित्र अनन्त आनन्द अव्यक्त गतिमा रमूँ
रमी आफू अरूलाई सदावर्त चुमिरहूँ ।।

म युद्ध उफ्रँदा उफ्रुँ आफै हानी नहोस् कतै
म हाँसो फैलँदा हाँसून् अरु सारा जताततै ।
क्रान्तिमैदान आफैँमा म योद्धा युद्धको सदा
धरा काँपून् गरी थर्थर अन्यायीसँग उफ्रँदा ।।

कालो भै भुमरी पर्दै लागोस् बादल गर्जन
विजुली चम्कियोस् चम्चम् म बनूँ रिपुमर्दन ।
हाँसोस् हिमालझैँ सत्य धक्का पत्थरमा दिऊँ
धक्काका धारमा आफै केन्द्रविन्दु बनिरहूँ ।।

उज्याली कल्पना त्रि्रा वक्षलाई चुमिरहूँ
त्रि्रै आँचलको घुम्टो छोई कक्ष घुमिरहूँ ।
मन सानो बनाएर नओर्लूं कहिल्यै तल
मन मैलो बनाएर नपरोस् गर्नु छल्फल ।।

दुई धार नदी बग्छन् बीचमा बनि उन्नत
यता अग्लूँ उता पग्लूँ चारको एउटै छत ।
नारीरूप त्यही एक, एक पौरुष चाहना
कलापी अनि मन्द्यौँला कल्लोल मनकामना ।।

जलका पाइला सारी जल खेल्छन् निरन्तर
जलकै कलिला हात जलमै र्छन तत्पर ।
फोका उर्ठाई फोकामै हाँसो गरेर पल्पल
हाँसेको दुनियाँ देखी दिल होस् जलको जल ।।

कलिला ती दुई नानी निस्कन्छन् जब बाहिर
तब ब्यूँझन्छ यो विश्व पाई आनन्दको घर ।
विषाद कहिले हुन्न त्यस्तो सुन्दर ठाउँमा
गरी उल्लासको वर्षा म पुगूँ गाउँगाउँमा ।।

नानी निकालि पानीका पाखा उक्लूँ म पल्पल
जहाँ टेकूँ त्यहाँ लेखूँ यौटा जीवन उज्ज्वल ।
मत्तउन्मादका बानी पानीमै पोखिद्यूँ सब
पानीझैँ बग्दिने बन्द्यूँ धरा ढाकेर सल्सल ।।

जूनका कुचिले कोरुँ जिन्दगीका नयाँ पथ
भावनाको उचाइँमा फ्याँकीद्यूँ सब झञ्झट ।
लेखेजस्तै हिडूँ यात्रा, यात्राजस्तै म लेखनी
सहारा एकमा अर्को बनोस् मलाई लेखनी ।।

म धूर्तहरूको भीड नबनूँ देवमन्दिर
टीको मलाई चाहिन्न भ्रममा भ्रमजालको ।
म मेरो दिलको देव दिलमै देख्न पाउँछु
सच्चा कर्मसँगै लम्की देवता भेट्न धाउँछु ।।