सानो नक्सा क्यानभासभरिको / ईश्वरवल्लभ
एउटा घरसमेत नभएको हुँदो हो,
केपुआदेखिन् रोमसम्म दुवै किनारमा मानिस टाँगिन्थे जिन्दगीसहित
फैलन्थे, आँखाले परसम्म हत्या गरेर मुट्ठीभरि, मुठ्ठीभरि युगलाई
अनि त्यही युगलाई उछिन्न दिएर, हरेक क्षण
मानिसलाई चुनेर हरेक क्षण हरेक क्षण
म आकाशलाई जित्छु मेरा विस्तारले कहिले,
खुम्चिन्छु कहिले निधारभित्र हत्केला र विश्वासभित्र
म आज अत्यन्त स्वतन्त्र हुन्छु ।
म अत्यन्त फुत्किन्छु
उभ्याउँदै औँलाहरूभरि उसले अस्तित्व बाँचिदिएको छ
सालिकमा फेरि सालिकमा
चलमलिउँदै कि जीवन जस्तो, मलाई हेर- उसले भन्छ
यहाँ छोऊ त यो हात जिउँदो छ- उसले भन्छ
यहाँ हिर्काऊ त, उसले भन्छ- म हिँड्छु, म कतिलाई जित्छु
पर्खालमा पुर्यााऊ बचाउँदै-
म कति एक्लो छु, म सबैबाहेक एक्लो छु ।
जस्तै यहाँ केही छैन खालि आँखा छ,
जस्तै यहाँ केही छैन, बाङ्गा सोझा र नमिल्दा रेखाहरू छन्
जस्तै यहाँ केही छैन, खाली चीसो स्पर्श छ,
जस्तै टाँसिउञ्जेल उभिएर ती पेगोडाहरू उँघ्छन्, झोक्राउँछन्, सुत्छन्
ओहो ! ओसारिन्छ आफैँ बाँझाहरूमा सुक्खा समयहरू
झोल्लिएका पानीका अनेक थुँगाहरू उसले भन्छ ।
र, बूढा स्थितिहरू बूढो आँगनले सुतिदिन्छ नउभिने भई
नउम्किने भई गुनिदिन्छ भित्ता र रेलिङले टुँडिखेलमा
इतिहासहरू ।
कसले गुनिदिएको छ ओर्लेर आँखाभित्र तलसम्म
मानिसहरू ।
आज कसले बाँध्छ फ्रेमको नक्सामा मात्र मानिसलाई
म साँच्ची नै चिथोरिरहेछु रेखाहरू र चार दिवारीहरू
एउटा घरभरि मेरो अधिराज्य छैन, मेरो केही पनि छैन,
अनुहार तयार हुँदैछ कि चुहाउँदै अभिव्यक्ति मेरो
केही पनि छैन ।
उसले भन्छ तर जेसुकै होस् आज म फगत
अनुहारले उम्किदिन्छु,
(अनुहारदेखिन् फुत्किदिन्छु ।)