भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सान्नानी फगत गलैँचा हो / विप्लव ढकाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सिस्नुका हाँगाहरूमा
काउछोको लहराले घाँटी बाँधेर
घाम अहिले तुर्लुङ्ग झुन्डिएको छ
र कुहिरोझैँ एउटा विषाक्त माकुरो
पहाडबाट—
बिस्तारै–बिस्तारै ओर्लिरहेको छ ।
यसैले सान्नानी गलैँचा हो
ऊ गलैँचा बुन्छे र घाममा सुकाउँछे
सान्नानी फगत गलैँचा हो
ऊ घाम बुन्छे र गलैँचामा सुताउँछे ।
 
जिन्दगीकोहिउँदमा
जब तुसारोका जङ्गलहरू उम्रिन्छन्
सान्नानी बेगमबेली फूलका झाङबाट
हाहाकार टिपेर फर्किन्छे।
हरेक शिशिरपछि
मनका फाँटहरूमा बुकी फुल्न नपाउँदै
हतार–हतार वसन्तहरू भागिरहेछन्
सान्नानी रोधीघरबाट
सुनसान आकाश लिएर फर्किन्छे
र साकेवाका प्रत्येक सिलीहरूमा
झुमर र झिँझिया नृत्यका तलाउहरूमा
कुमुदिनीका प्रेमपत्रहरू च्यातेर
सान्नानी टुहुरीझैँ एकतमासले रोइरहन्छे ।

काफलको उदास हाँगामा बसेर
चरी — ‘काफल पाक्यो।’ — भन्छ
सान्नानी काफलको फेदमुनि बसेर
रात–रातभर रोइरहन्छे।
रोइरहन्छे…
किनभने सान्नानी फगत गलैँचा हो।
र बूढो फेदाङ्वा—
गलैँचामाथि सुतेर
अहिले पुसको पहारिलो घाम तापिरहेको छ ।।