भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

साला पहाड मे क्या है? / मीनबहादुर बिष्ट

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



१. मुहानबाट निस्केर फुत्त
कहीं हुत्तिँदै कहीं थामिंदै
तर कहीं कतै पनि
पछाडि फर्केर
एक नजरसम्म
नलगाउँदै
बरु उल्टै दुई किनारहरुमा
सालीक झैँ
उभिएका रोगी पहाडहरुलाई
लात हान्दै बेस्सरी
भागिरहेछ नदी
देश छोडेर !

२. काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला र
कम्मरमा
वर्षौदेखि शान नलगाई
खिया परेको
खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई
मूर्दाघर जस्तो घर
रुङ्न अह्राउँदै
पियारीहरुलाई साथमा लिएर
हिँडिरहेछन् तन्नेरी छोराहरु
जनम ठाउँ छोडेर ।

३. बेमौसम
अज्ञात मुलुकबाट
आएको बताससँगसँगै
लहस्सिँदै र बतासिँदै
उडिरहेछन् दिशाहिन भएर
सुन्दर, मुलायम
फूलका कलिला कोपिलाहरु
र हरिया, नरम पातहरु
बिल्कुल नांगो र कुरुप पार्दै
पर्वतका श्रृंखलाहरुमा
लाम बाँधेर
परेडमा उभिएका सिपाही झैँ
उभिएका वटवृक्षहरुलाई ।

४. लामो खडेरीपछि आएको
अविरल हुरी र झरीद्वारा
घरद्वार गुमाएका
परेवाका बथानहरु
सुकुम्बासी झैँ
खडेरीले शुष्क भएको छाती र
बर्सातले निथ्रुक्क भिजेको जीउ लिएर
न बस्ने बासको ठेगान
न खाने गाँसको ठेगान
बिल्कुल बेठेगान भएर
भौतारिइरहेछन्
कहिले पूर्व दिशा त
कहिले पश्चिम दिशा ।

५. त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकूँ
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा
निवन्ध लेख्न सकोस्
जस्तो कि
धेरै वर्ष
लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कंदा
बातैपिच्छे
भन्ने गर्छन् लाहुरेहरु
'साला पहाडमे क्या है'
हो, केही छैन 'साला' पहाडमा
केही छैन, तर जरुर केही छ पहाडमा
जस्तो—
नवजात शिशु मरेका आमाहरु झैँ
असाध्यै पीडामा आँसु बगाइरहेका
नदीका मुहानहरु छन्,
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी र
केही भ्यागुताहरुको पसल थापेर
कत्ति पनि हलचल नगरी
चट्टान झैँ जमेका
केही पोखरीहरु छन्,
एक्कैसाथ घर रुङ्दै र काल कुर्दै गरेका
केही बुढाबुढीहरु छन्,
अनुहार सक्किएका केही पर्वतहरु र
यौवनमै ठहरै परेका
केही वटवृक्षहरु छन्
र छन् आँखाबाट रगतको आँसु चुहाउँदै
कलेजै कटाउने गरी
घुरिरहेका सुकुम्बासी
परेवाका बथानहरु ।