सिपाही / दिनेश अधिकारी
पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर 
बच्चा-मुख आमा-छातीमा टाँसिनुको भाँतिमा 
चुल्ठीमा अल्झेको लालीगुराँस 
तिम्रो यौवनलाई असाध्यै सुहाएको छ 
सिन्दूर पखालेर- 
इच्छाहरुमा भो ! आफूलाई नमार 
निधारमा झलमलाएको 
बाटुलो सिन्दूरे टीको 
तिम्रो गालाको लालीसँग खुबै खुलेको छ 
 
काँचो धागोले बाँधेको 
जाबो एउटा चिठी आयो भन्दैमा 
म भन्दिनँ-तिम्रो लोग्ने मरेको छ 
र, कसैले मरेकै हो भन्छ भने पनि 
निरर्थकमा मरेको छैन तिम्रो लोग्ने 
गर्व गर ! 
ऊ- 
तिमीले अन्न उब्जाउने 
यो देशको माटोलाई मलिलो पारेर गएको छ 
निधारको अक्षता पखालेर सामल जुटाउनुपर्ने यो अभावमा 
कोक्रोमै खोक्रो पेट बाँचिरहेको एउटा नानीलाई 
उसले एक पेट 'रासन' छुट्टयाएर गएको छ 
तिमी त सिपाहीकी स्वास्नी पो हौ 
के यत्ति पनि थाहा छैन- 
मर्यो् भनेको तिम्रो लोग्ने 
बाफबाट पानी र पानीबाट बाफ जस्तै 
अहिले- 
तिम्रो सुरक्षित देश भएर फर्केको छ 
 
र, मसँग सोध्छ्यौ भने त 
सुन ! 
सिपाही कहिल्यै पनि मर्दैन 
कि त ऊ- 
नियुक्ति लिएकै दिन मरिसकेको हुन्छ !! 
	
	