भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सीमातीत सीमान्त / मुकुल दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म मान्छे
एउटा सीमातीत सीमान्तमा
आइपुगेर उभिएको छु ।
यहा"बाट सङ्ग्रहालयमा राखिएका
अपूर्ण अर्थ निहित
इतिहासका खबटाहरूजस्ता
आदर्शलाई हेरिरहेछु ।

ती सिनेमाका अतिरञ्जित दृश्यहरू झै
अप्रासङ्गकि लागिरहेछन् ।
यहाबाट मान्छेले आफूमाथि देख्ने गरेका
आकाशहरू हेरिरहेछु ।

ती टर्रा, खस्रा, बाक्ला जिब्राहरू लागिरहेछन् ।
आफूलाई विनिर्माण गरेर
उ"टको खुट्टामा उभिएका
मान्छेहरू देखेर वरिपरि
म तर्सिरहेछु आफैसंग ।

विस्तीर्ण, अथाह यो ग्रह
यन्त्रसूत्रहरूको जालोमा
कक्रिएर शिशु भएको देखेर
म मेरो मन छामिरहेछु ।
मनमा उठ्ने छाल यन्त्रमा हुदैन ।
मनमा उठ्ने बाढीसंग यन्त्र परिचित छैन ।
मस्तिष्कको संवेग यन्त्रले बुझ्दैन ।
यन्त्र मन हुन सक्दैन ।
यन्त्र मस्तिष्क हुन सक्दैन ।

म यन्त्रको खुट्टा परेको मान्छे हेरिरहेछु ।
म यन्त्रसंग रोइरहेको मान्छे हेरिरहेछु ।
प्रयोगमा अनूदित मान्छेको
प्रयोगशाला हेरिरहेछु ।
केमिकल रियाक्सनबाट उत्पादित
आदर्शहरू हेरिरहेछु ।
लिङ्गमा रोपिएका नवलिङ्गहरू हेरिरहेछु ।
छालामा उमारिएका छालाहरू हेरिरहेछु ।
मस्तिष्कको ब्याडमा छरिएका
मस्तिष्कहरू हेरिरहेछु ।

तरुनीतृष्णामा लीन तरुनीहरू
तरुणभोकमा आसक्त तरुणहरू
क्लोनिङ्ग गरिएका मूल्यहरू
मलाई चटक लागिरहेछ ।
लिङ्ग साटिएका सत्यहरू
मलाई चटक लागिरहेछ ।

म ध्वस्त भएर उभिएको निर्मिति
म विग्रह भएर निर्मित संरचना
यो सीमान्तमा आएर
आफूलाई बेस्सरी छामिरहेछु ।
आफूलाई बेस्सरी
बुझ्न बल गरिरहेछु ।