सुख दुःखका विषयमा २२२ – २४२ / उमानाथ शर्मा पोख्रेल
भाई हो ! सुख दःख सम्पद विपत् नोक्सान नाफ अहो ! ।
पालोनै गरि चक्र तुल्य घुमछन् योलोक को धर्म हो ।।
तेस्ता ती अनिवार्य दुःख सुखमा धैर्यावलम्वी हुँदै ।
भोग्नु पर्छ विचारहीन मनले साधारणै संझदै ।।२२२।।
मिल्ला सौख्य कुनै प्रकार कहिल्यै तेस्मा नता मात्तिनू ।
पर्ला दुःख कुने उपाधिवशले तेस्मा नता आत्तिनू ।।
झुल्कन्छन् सुख कार्य झट्ट कहिले फेरी ती अस्ताउँछन् ।
दुःखोपाधि तुरुन्त आइ ती पनि फेरी कता धाउँछन् ।। २२३।।
जस्तो सौख्य बुझिन्छ, दुःख पनि हो उस्तै अनित्योदय ।
यस्तो नक्कलिबात आइ परदा कर् काम मान्नू भय ।।
साँच्चैका सुख दुःखनै भुवनमा छैनन् कुनै संझदा ।
ठानिन्छन् जति, त्यो त खालि मनको हो भ्रान्ति नै सर्वदा ।।२२४।।
कस्तै घोर उपाधि पर्छ त पनि दुःखी हुँदैनन् कति ।
सानू सह्य उपाधिले पनि कुनै वेचैन हुन्छन् अति ।।
यौटै विघ्न छता पनि कहिं भने त्यो सौख्य दाता हुने ।
सोही कोहि मनुष्यका उपरमा अत्यन्त बाधा दिने ।।२२५।।
रङ्गी चङ्गी लुगा लगाइ सुखि हौं भन्छन् कुनै मानिस ।
नङ्गा भै सुख पाउने विषयमा गर्छन् कुनै कोशिश ।।
राज्यप्राप्ति निमित्त चित्त धसदै हुन्छन् कुनै आकुल ।
राजत्याग गरी विशेष सुखले बस्छन् कुनै निःस्पृह ।।२२६।।
पुत्रोत्पादनमा मनोरथ लिई गर्छन् कुनै छट्पटी ।
भार्या वन्धु समस्त बन्धन भनी त्यागेर हिड्छन् कति ।।
घेरा मानिसका लगाई अहहा ! हूँ धन्य भन्छन् कुनै ।
मानामान समान मानि मनले एकान्त बस्छन् कुनै ।।२२७।।
कोही खूब धनी महाशयपनि दुःखी बनी बस्तछन् ।
कोही खूब गरीब मानिसपनि आनन्दले मस्तछन् ।।
कस्तो हौ कति सम्मले सुखहुने यो बातको निर्णय ।
गर्नै पर्छ भने हुनू पुरुषले सत्शास्त्रमा तन्मय ।।२२८।।
राम्रा श्रेष्ठ अमूल्य वस्तुहरुले आनन्द होला भने ।
केही काल वितेपछि तिनी पनि झंझट् भनी ठानिने ।।
त्यो पाये हुन सम्म हुन्छु म सुखी भन्दै थियें त्यो मिल्यो ।
उस्तै दुःख छँदैछ फेरि मनमा अर्कै प्रशंसा खुल्यो ।।२२९।।
जे चाहिन्छ उही तुरुन्त मिलदा आनन्द होला स्थिर ।
भन्ने तर्क गरौं त यस्विषयमा देख्छू हजारौं पिर ।।
जत्ती पूर्ण गर्योष, मनोरथ उति झन् झन् नयाँ उठ्दछन् ।
बारंबार असाध्यकाम मनमा धारा भई छुट्दछन् ।।२३०।।
इच्छाले मन थाक्दैन जनक खाली नयाँ खोज्दछ ।
देखे सम्म पदार्थले न पुगदा अर्कै कुनै रोज्दछ ।।
दर्जा, द्रव्य र पुत्र, मित्र, गृहिणी इच्छा बमोजीम् रहुन् ।
भैगो, पूर्णभयो, भयें अवसुखी योवात संझन्छु कुन् ।।२३१।।
येही निश्चय दुःख हो भनि कुनै ठेक्का गरौं पो भने ।
तेही नै परिणाममा बुझिलिंदा आनन्द जस्तो हुने ।।
यो हो सौख्य भनी कुनै विषयमा तोकौ भने त्यो पनि ।
चाँडै नै मनबाट बाहिर हुने सन्तापदाता बनी ।।२३२।।
कुन्हो दुःखभनी विचार गरदा टुङ्गो कुनै मानिन ।
संसारी सव वस्तुमा सुख दिने मैले कुनै ठानिन ।।
सारा सौख्य र दुःखका विषयमा हो चित्त नै कारण ।
येही वश्य भये कडा पिर पनि मानिन्छ साधारण ।।२३३।।
दुःखीछू धन धान्य टञ्ज न हुँदा भन्दै गरी कल्पना ।
यो यो वस्तु प्रशस्त पार्दछु भनी ज्यादा गरी संझना ।।
सामग्री जति जोडियिन्छ सुखको त्यस्माथि लाखौं थरी ।
इच्छा फेरि थपिन्छ दुर्लभ पनि उन्मत्त पार्ने गरी ।।२३४।।
यस्तै रीत धमाधमी मन बडी बेचैन ती बन्दछन् ।
दुःखी हूँ भनि आफुलाई जुनिञा यस्हेतुले भन्दछन् ।।
तृष्णा ले जति खल्बल्याउँछ उति बाधा पनि मिल्दछ ।
तृष्णा का भरमा पर्योय जति उती संसारले चिल्दछ ।।२३५।।
चारै तर्फ बुझे बुझिन्छ जनले प्रत्यक्ष दृष्टान्त यो ।
यो दृष्टान्त बुझ्पछी हृदयमा उब्जन्छ सिद्धान्त यो ।।
यो सिद्धान्त जम्यो भने हृदयमा गाढा भई सर्वदा ।
हदैसम्म सुखी हुनेछ दुनिञा डग्दैन कस्तै हुँदा ।।२३६।।
यो पापी मननै उगेल्छ दिनहूँ त्यो उग्। तृष्णा-विष ।
त्यसको दुर्मुख वन्द गर्न वलले गर्दै रहौं कोशिश ।।
यो ज्यादा न कुदोस् भनेर पहिले यस्लाइ पारौं कुजो ।
यस्को खूब फराक दुष्ट मुखमा खादौं न चल्ने बुजो ।।२३७।।
यो फर्कन्छ जता जता बखतमा चड्कन लगाऊँ उत्तै ।
जागा भै यसला२ कायम गरौ चल्नै नपाओस् कतै ।।
चेष्टा गर्छ अझै फसाउन भने कक्र्याउँदै बेसरी ।
यस्को धुक्धुकि नै सफाचट गरौं फेरी न जाग्ने गरी ।।२३८।।
कालो सर्प समान यो मन अनी भित्रैकता लुक्दछ ।
त्यो तृष्णा-विषको बडो दह पनि विस्तारमा शुक्दछ ।।
जुन् जुन वस्तु निकै जरुरत भनी पैले बुझेका थिये ।
ती ती वस्तु विकामा का तब हुनन् तृष्णा सबै नाशिये ।।२३९।।
त्यो तृष्णा-विष फैलिंदा हृदयमा साह्रै बिरामी हुने ।
त्यो बेला अब के उपायछ भनी प्राणी निकै आत्तिने ।।
यस्तो वस्तु भये सुखी म बनुला भन्ने चिताई कन ।
लाखौंमाल थुपार्दछन् तर पनि सानन्द छैनन् जन ।।२४०।।
जे पाये पनि दील शीतल न भै हैरान पर्छन् तर ।
तृष्णाको छलहो भनेर न बुझी पर्छन् उसैका भर ।।
जस्तै दौलथ गम्किये पनि अहो ! छुट्दैन तृष्णा-विष ।
गर्नु पर्दछ दुःखको डरभये अर्कै कुनै कोशिश ।।२४१।।
खोला लाई सुकाउँने मन लिई आयेर टुप्पा महाँ ।
पानी फ्याँकि दियेरमात्र वलले त्यो चट्ट सुक्ला कहाँ ।।
तर्काऊँ गइ मूलमा अनि भने फर्कन्छ खोलो उत्तै ।
बारी खेत वगाउने विषयमा पर्दैन बाधा कतै ।।२४२।।