सुख दुःखका विषयमा २४३ – २६३ / उमानाथ शर्मा पोख्रेल
त्यो तृष्णा विषको मुहान कुनहो उब्जन्छ यो के हुँदा ।
भन्मा मनबाट उठ्दछ भनी जानिन्छ संझी लिंदा ।।
तस्मात् यो मनलाई नै वलगरी फर्काउँ अर्का तिर ।
त्यो हालाहलवन्द हुन्छ अनिता पर्दैन केही पिर ।।२४३।।
जास्को हुन्छ अनित्य तुच्छ चिजमा आसक्ति ज्यादा कडा ।
जो यो नश्वर देहलाई “म” भनी हुन्छन् जगत्मा खडा ।।
लिन्छन् जो अभिमान स्वप्न सरिका ऐश्वर्यका वेगले ।
तेस्ता ती विचरा मनुष्य हरुमा पक्डन्छ यो रोगले ।।२४४।।
जस्को देह पलाप्पियो विषयका धेरै थ री भोगले ।
जस्को चञ्चलता बढ्यो हरघडी तृष्णा-महारोगले ।।
जस्का इन्द्रिय मात्तिये मन परी आस्वाद पाई कन ।
थोरै मात्र घटी बढी पनि भये आत्तिन्छ सोही जन ।।२४५।।
त्यो दुःसाध्य न जाति रोग रहँदा चिन्ता वडो पर्दछ ।
त्यस्ले छाडि दियो भने सकलको त्यो छट्पटी टर्दछ ।।
लूतो दाद कनाउँदा बढदछन् तत्तुल्य तृष्णा पनि ।
जेजे भन्छ उसै गर्योद यदि भने चम्कन्छ टाठो बनी ।।२४६।।
इच्छा माफिक दाम काम न हुँदा आनन्द कती भयो ।
जैले यी दुइवात पूर्णरहलान् तैले गजब् भइ गयो ।।
यस्तै रीत विवेक कत्ति नलिई ठान्नू वड भूलहो ।
तृष्णाका वशमा परेर रहनू आपत्तिको मूलहो ।।२४७।।
लाखौं कोशिश नित्यनै गरि रहूँ पेलौं बलौटो मली ।
झर्नेछैत कदापि तेल उसमा थोपो पनि सक्कलि ।।
तेस्तै सौख्य कमाउनर् विषयमा ज्यादा चनाखो बनी ।
जत्ती माल थुपार, शान्ति न मिली टुट्ला भयेको पनी ।।२४८।।
धेरै भोजनले ठसामस भई पीडा भयो पेटमा ।
फेरी भोनका निमित्त कुदियो ततेकाल होटेलमा ।।
खादौं डाडु घुसाइ भित्र मुखमा पारौं अरु भोजन ।
त्यो बेला हुनगो कि पेट खुकुलो यदा बढ्यो ओजन ।।२४९।।।
तेस्तै जे जति धेर थोर सबको होला झिटी सम्पत्ति ।
सन्तोषी जन हुन् त शान्ति उतिमै भोगी रहन्छन् अति ।।
तृष्णा बाट सिकिस्त जुन् जन हुनन् ती छट्पटी गर्दछन् ।
फेरी धेर थुपार्न नै मनलिइ सन्तापमा पर्दछन् ।।२५०।।
भेटेको छ नजानिदा तरहले यौटा कुनै रोगले ।
खाई लाई उडाउँदै जनहरु घुम्दछन् बडा वेगले ।।
जत्ती फूर्ति गरे पनि हृदयमा खाली अँध्यारो हुँदा ।
के गर्दा सुख शान्ति मिल्दछ भनी जोड्न्छन् हजारौं बुँदा ।।१५१।।
त्यस्तो तुच्छ बुँदा भरेर न हुने यो हो अनौठो ब्यथा ।
तेस्तै औषधि जिन्दगी भर गरौं हट्दैन यो सर्वथा ।।
हो तृष्णाविष्जन्य रोग ननिको यस्ले सतायो जब ।
संसारै भरका पदार्थ बटुलौं मिल्ला सुवस्ता कब ।।२५२।।
जे जे जीवनका निमित्तछ सदा अत्यन्त आवश्यक ।
त्त्ती मात्र भयेर चित्त अडिये आत्तिन्छ को वेहक ।।
अर्काको धन धान्य सङ्ग्रह हुँदा त्योपो सुखी हो भनी ।
आफ्नू शान्ति गुमाउँछन् जनहरु उन्मत्त जस्ता वनी ।।२५३।।
खूबै पूर्ण बनीवनाउ अरुको देखिन्छ लौ वाहिर ।
तेस्को भित्र अशान्ति को बुझिदिने कस्तोछ तेस्को पिर ।।
साँचो वात भनौं भने सुखहुने संसारमा को छ र ।
जो यी वाह्य पदार्थ का उपरमा आजीव पर्छन् भर ।।२५४।।
चेष्टा गर्नु सुहाउँदो किसिमले आफ्नूछ जो ल्याकत ।
गर्दामा जति हुन्छ लाभ उतिमै सन्तोष होस् सन्तत ।।
जो चिन्तामणिको बयान छ बडो आनन्ददाता भनी ।
त्यो सन्तोष रहेछ छैन बुझदा अर्को त केही पनि ।।२५५।।
इच्छा पूर्ण भयेर शान्ति मिलनू टाढा कता हो कता ।
इच्छा पूर्ति निमित्त नित्य भुमदा हुन्छन् सबे वेपता ।।
सन्तोषै बुझियो महाधन यहाँ आनन्दको साधन ।
जस्को यो धन हात पर्दछ उही हो शान्ति को भाजन ।।२५६।।
सन्तोषी हुन हात बाँधि बसनू भन्ने कुनै ठान्दछन् ।
उद्योगी न भई प्रमाद गरनू हो त्यो त आलस्य झन् ।।
जे जस्तो गरि लोक मा कनिकुथी निर्वाह होला स्थिर ।
त्यस्तो गर्नु, परन्तु लाभ न हुँदा केही न मान्नू पिर ।।२५७।।
लामू श्वास न फेरि ढुक्क रहँदै आफ्नू झिटी माफिक ।
जोड्नू माल पराइको अरु भये त्यस्मा न मान्नूदिक ।।
यो सन्तोष कहिन्छ यो विधि गरे बढ्दैन तृष्णा-विष ।
आफ्नै सम्पदले सी रहनमा चाहिन्छ यो कोशिश ।।२५८।।
अर्कोत्यत्ति हुँदा सुखी यदि छता, ढुक्कै मछू यति ले ।
दुःखी छू म कदापि, छन् अरु पनि सन्तप्त आपत्ति ले ।।
मेरा इन्द्रिय वर्ग यत्ति चिजका संभोगले साधिंये ।
त्यसका इन्द्रिय वर्ग त्यत्ति चिजका संभोगमा बाँधिए ।।२५९।।
जत्ती भोग विलासमा बढि रह्यो उत्ती सबै इन्द्रिय ।
चम्कन्छन् र नयाँ नयाँ विषय नै ठानी रहिन्छन् प्रिय ।।
थोरै बाट सुखी हुने मनलिई अभ्यास तेस्तै गरे ।
एकै नास सुखी रहिन्छ दिनहूँ पर्दैन आपत् भरे ।।२६०।।
यस्तो निश्चय धारणा लिइसदा सन्तोषले बाँचनू ।
दुःखभ्रान्ति असत् भनी भुवनमा आनन्द ले नाचनू ।।
आनन्दी हुँयिदैन यो विषयले चाहे पछारौं शिर ।
आनन्दी हुयिंनेछ निश्चय सदा सन्तोष राखे स्थिर ।।२६१।।
आनन्दी हुनलाई नै मन भये बैराग्य-सौभाग्य को ।
चर्चा गर्न तयार भैकन रहौं खोजी गरौं तत्वको ।।
जानौं यी परिवार यो धन पनि मिथ्या सबै हुन् भनी ।
मानौं शास्त्र र सत्यवादिगुरु का सद्वाक्यलाई पनि ।।२६२।।
ज्यादा विस्तृत मोह वृक्ष बीचमा हानौं बडो बञ्चरो ।
फेरी अङ्कुर फैलिने डरहुँदा यस्को उखेलौं जरो ।।
यस्का जो फल फूल पत्र समिधा छाया हरु वस्तु छन् ।
तिन्को खूब विषालु गन्ध उड्दा सानन्द भै बस्छ कुन ? ।।२६३।।