सुत्केरी आमा र सपनाको आतङ्क / विमला तुम्खेवा
तारा रोएको रात
एक हूल ... ... ...
जिज्ञासाको भावना लिएर
मेरो रातलाई बिथोल्ने गर्छन्
सपनाहरु ... ... ...
यतिखेर
सपनाहरुको मलामी भएर उभिएकी छु
बीच बजारमा ।
सधैँ—
निरब शून्यतामा
एकतमासले सपनाहरु
आतङ्कित छन्
एक्लै ... ... ...
फगत एक्लै
जूनको बैँसालु अनुहार / अनुहारभरिभरि
वेदनाको प्रतिबिम्ब बोकेर
उदास छ ।
वर्षौंदेखि यलम्बरको आँखाबाट अविरल
आँसुको धारा बगिरहँदा ... ...
मैले मात्र बुझ्न सकेँ आँसुको धाराहरुलाई
शब्दका खेलाडीहरु
यतिखेर —
मान्छे विरूद्धको नारा ओकलिरहेछ
म,
हतास हतास छु
म,
उदास, उदास छु
नजन्मिएका मेरा छोराहरुको भविष्यसँग ।
नयनबाट —
बग्दै गएका भविष्यका आतङ्कित आँसुका धाराहरु
यतै कतै
छाती र चौबन्दीको तुनाहरुमा
निर्लिप्त छ
आमा हुनुको नियतिसँग
छातीभरि दुःखको लाहाछाप लिएर
बुद्धको स्तुप मौन छ
र —
अचेल मेरो कलमबाट रातो रगत कोरिने गर्छ
यतिखेर —
मेरा प्रियजनहरु
विजयको उत्सव मनाइरहेछन्
चिहानहरुको सम्झनामा
सधैँ —
मान्छेको बस्तीमा आन्दोलित छ
घात र प्रतिघातका भीडहरु
म,
जूनको बैँसालु अनुहारसँगै
नजन्मिएको छोराहरुको भविष्यसँग आतङ्कित छु ।