भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुन्दरीजल / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कसरी झर्छिन् छहरा, सुन्दरीजलको शीर !
झर्छिन् कसरी छहरा, जुहारहरूको जन्जीर !

कविको अन्तस्करण रसाई, घाम-झरीको अनुभवसार
भुलभुल कविता मूल फुटेझैँ अचलहरूकी भावोद्गार,
सलसल, सलमल, तरल, घुमेकी, चलमल, चपल भएकी बाल,
कलकल गाना, हिलमिल लहरा, झुलमुल, फूलहरूको ताल ।
झाडी-झमक र गाम-चमक, पत्थरमा गहक र घाँस-चहकमा
तारा-झिमिक र चन्द्र,-टहकमा चल्छिन् तलतिर तरल सडकमा
कङ्कण कङ्कण झन्कन लाई, छमछम, छलछल पाउ बजाई
पेशल फर्फि सलक्क घुमाई छरछर हाँसि मोति छिटाई
धाम फुटाउ रङ्गि बिरङ्गि इन्द्राणीको हार लगाई
पात-हवेली-सुरेलीभित्र सलसल खेल्छिन् सललल गाई
रमि रमि घुमि धुमि नन्दनवनमा मन्द हवाको स्पन्दनमा
गुनगुन गुनगुन गान शुनाई बच्चा मृगको क्रन्दनमा ।
एक विशाल चयन-किनारा हाँसी हेर्छिन् गहिराई
हामफाल्छिन् ती हात फिँजाई, हाँसि कराई छहरा ई
घहरिई वैरिई चुरिई छरिई पहरिई भुँवरिई हुरिई पुरिई
सुरिई धुरिई भरिई चिरिई छहरिई फीँज फिँजाई पुरिई
बूँद फिजाई, पवन भिजाई गर्छिन् ढुङ्गामाथि रँजाई
स्वर्गङ्गाको झर्नालाई फिका बनाई वदन लजाई
झर्छिन्, झर्छिन्, मोती छर्छिन् सब स्वरहरुमा गाई गाई
दङदङ छरछर छङछङ हरहर सिम्सिम सरसर धनधन घरघर
छलछल छमछम खलखल झमझम घलघल झनझन थरथर झरझर
कविको कानन- हृदयभरी छन् मोहिनि झर्ना, तिम्रा स्वर स्वर,,
थर्किरहेछन, झन्किरहेछन्, व्यापक शब्द मधुर मधुरतर !

अहा, उज्याली झरना, सुन्दरीजलकी शीर !
हँसिली झरना अहा, जुहारहरूकी जन्जीर !
सुन्दरतामा हृदय छ बाँधा मोति-हिराको जन्जीर,
सम्झनाकी पास उज्याली, कामनाकी नीर !
रजत ज्योतिको निर्मल जीवन,, मोतिभावका विलसित कण,
                                                   आनन्दका आभूषण,
                                             सब मधुर शब्दको गुञ्जन,
                                            जीवित-गतिमा जीवन-धन,
मोति-छराव, विनम्र झुकाव, कल्पनाको तरल बहाय,
सब भरिदेऊ, सलिल प्रपात, जीवनमा तिम्रो सौगात ।

.................................................
शारदा, ७७,, कार्तिक १९९८