सुन्दर कविता / सविता गौतम दाहाल
केही विम्व उभ्यायौ तिमीले
केही संगीत भरे मैले
केही रुपक मैले थपे
समग्र सजायौ तिमीले
ऋतुहरुसंग मिलेर एउटा कविता लेख्यौ हामीले ।
स्वप्नदेशका कुना कन्दरा हातेमालो गर्दै हिडीरहयौं
बोल्ने बटवृक्षहरु रोमीयो जुलिएट भन्थे
लैला मज्नु भन्थे
मुना मदन भन्थे
हाम्रा हरफहरु क्रमशः हुर्कि रहे ।
कैयौ पटक, कैयौ हरफ च्यातेर फाल्यौ
हावामा टुक्राटुक्रा उडायौ
उँचो बसेर मरुभमिको क्षितिज नियाल्दै
मौन सुनिरहे
प्रवल हाउभाउको अनुपम प्रस्तूति
परबाट हिर्काएको मनभित्रसम्म दुख्थ्यो र सहन्थे ।
कुशल मालीझैं झारपात अक्षरहरु
उखालेर फालेको तब बुझे
जब सुन्दर कविता घुमे ।
घरि लाग्थ्यो स्वप्न शहर पुरै विरानो
चराहरु भागेर सुन्सान वा अन्धकारको आतंकले त्रस्त
घरि लाग्थ्यो एकदमै आफनो
नजिकैको नैनी ताल वा प्रिय चित्रलेखा ।
अलिकति बुझिने अलिकति नबुझिने
छोए जस्तो अनि फेरि कतै हराएजस्तो
अनगिनती भावहरु मिलेर टलक्क
बन्यो जब अक्षर इन्द्रेणी
बुझे हाम्रो युग कविता अनि कलाकार कवि ।
घाम र पानी जतिकै कणकण
र कोष कोष जीवन बहिरहेछ हाम्रा हरफहरुमा
संम्पर्णता मुस्कान फुलाईरहेछ
यो युगको सुन्दर, शालीन र मौन कविता ।