भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सुरुआत / एस्पी कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कसैबाट केही सिकिरहेछु अविरल
कोहीबाट केही सुनिरहेछु अविश्राम
सबैबाट सबै बुझिरहेछु निरन्तर
तैपनि सिक्ने, सुन्ने, बुझ्ने सुरुआत भएको छैन,
अरूको त के हुन्छ कुन्नि
मेरो भूगोलभित्र त
रात सकिएपछि मात्र साँझ पर्ने गर्छ ।
सिकिसकेपछि सिक्ने
सुनिसकेपछि सुन्ने, बुझिसकेपछि बुझ्ने
यसरी मात्र मेरो हरेक कामको बिहानी हुन्छ ।

अट्टहासभित्र रुमल्लिएको कोठाभरि
मन्द मुस्कानसम्म मसँग छैन
अरूहरूको त जान्दिनँ म
मेरो मानवशास्त्रमा सधैँ
हाँसो सकिएपछि मात्र खुसीको थालनी हुन्छ ।
शोकाकुल आत्माहरूसँग बसेर घाटभरि
एक थोपो पीडा आफू बोक्न सक्दिनँ
एक बुँद आँसु आफ्नो वशमा छैन
अरूको त थाहा छैन मलाई
मेरो प्राणीशास्त्रमा निरन्तर
आँसु रित्तिएपछि मात्र दुःखको थालनी हुन्छ ।
शङ्खनाद छरिएको छ रणभूमिमा
थोरै उत्साहको अंश पनि हराएको छ मबाट
कम्मरको खुकुरी हातसम्म आइपुगेन
अरू योद्धाको त थाहा छैन
मेरो इतिहासमा त अझै
सम्झौतापछि मात्र युद्ध सुरु हुन्छ ।
परिवारको माझमा जिएर जीवनी
एक धर्को भविष्य कोर्न सकिनँ
एक थोप्लो भाग्य मसँग छैन
अरूको त भन्न सक्दिनँ म
मेरो ज्योतिषशास्त्रमा त निरन्तर
मृत्युपछि मात्र जीवन सुरु हुन्छ ।