सूर्योदयदखि सूर्योदयसम्म / उमेश लुइटेल
मिर्मिरे चिप्लिएकै थिएन
अँध्यारो च्यातिएकै थिएन
यसबेलै शीतलताविहीन हावा चल्यो मुटुको दलानमा ।
आँखा अगाडि मान्छेका जुलुस
कङ्क्रिट वर्तमानको रेखाङ्कन कोर्दै बढिरहन्छन् ।
शरीरहरु आँखा मिच्दै
चौरस्ता र सडकबाट ब्यूँझन्छन्
भोक चपाएर रातभर
हुरीले हल्लाएको पोथ्रोजस्तै हल्लिन्छन् छायाहरु ।
धूनी तापेर आफ्नै जीवनको
फूल फुल्दै नफुल्ने बोटमा अनूदित जीवनलाई
मृत्यु आमन्त्रण गर्छ
आनन्द र मुक्तिका लागि
साँच्चै नै,
विपन्नताको बस्तीमा प्रसिद्ध छ मृत्यु ।
प्रकाश कज्याउने
ब्ल्याकहोल झैं भैदिन्छ यो बेला पनि
अनि विरानिन्छन् विश्रान्तिका चौतारीहरु ।
पुलकित विलोम आकृति बौक्दै पाइला चलिरहन्छन्
क्लोनिङ् भैरहन्छन् दु:ख र अभावका सुस्केराहरु ।
यत्तिकैमा घाम रातो भयो पर अस्ताचलमा
अब सन्ध्याको गर्भमा यात्रा हुनेछ
र क्रमश : आउने रातले
एउटा लस्त प्रतिमा छोपिरहेनछ ।