उठें,
खोजी गरें उज्यालोको।
क्षितिज-
परैबाट मुसुक्क हाँसी
सकी नसकी।
प्रसव पीड़ामा रहिछ ऊ – बिहानै देखी।
कस्तो थियो पीड़ा कुन्नी!
रक्ताम्मे भई क्षितिज – हेर्दा हेर्दै।
सृष्टीको पीड़ा
सर्दै सर्दै आयो ममा पनि
- आमाले सन्तान जन्माउन आँटिछ।
ओहो! क्षण भरमै जन्माई सकिछ
सूर्यलाई।
हेर्दा हेर्दै
एउटा ज्योतिर्पुञ्ज
उज्यालो छर्दै छर्दै फिंजिईसकेछ आकाशभरी
कति छिटो हुर्केछ सूर्य!
ज्योतिर्मय भयो संसार।
बुढ़ी परममाता –
ती जगज्जननी
आँफै धाई बनेकी रहिछन्!
सन्तुष्ट भई मुस्कुराइन् ती पनि
बाल सूर्यको जन्ममा
अनि
जन्माउनु र जन्मिनुको पवित्र पीड़ालाई
पोको पारिन् अनुभवी हातहरुले
र लुकाईदिइन् सृष्टीको एउटा खोपामा
जतन गरेर।
बाल सूर्यकी सन्तुष्ट आमालाई
बधाई भन्नै बिर्सेछु मैले
मनमा गुञ्जीरह्यो एउटै ध्वनी
“ॐ सूर्याय नमः”