सूर्य किरणको एक झलक / लक्षन्था अथुकोराला / सुमन पोखरेल
हृदयमा दुःखका सुइराहरू रोप्पिएका बेला
भुत्ते साहसलाई बसमा चढाएर
आँशुसँग आजीत भएका परेलालाई पुछ्दै
श्रीमतीका लागि फूल लगिदिँदै गरेको एउटा मान्छे छ त्यहाँ ।
उसको मष्तिस्कको आकाशमा
जून र ताराहरूलाई छप्काउँदै निल्दै गरिरहेछ एउटा क्रुर रात
फूल बोकेर आफ्नी श्रीमती सुतेका ठाउँतिर जाँदैछ ऊ
चमेलीको बोट मुनिको होचो चिहानका छेउ
एउटा चिसो दिनको झिसमिसेमै गएकी थिइन ती
फूलका कोपिला टिप्नलाई जून जसरी
र बिलाएकी थिइन उसको हृदयलाई जलाउँदै
फूलका कोपिलासँगै सेतो ओढेर
चाँडै नै उनको संसारमा पुग्नेछ ऊ पनि भन्दै
रूँदै बर्रबराउँदै व्यतित गर्छ समयलाई ऊ
अझै पोको पारेर
फुक्दै गरेको हृदयको पिण्डलाई
एक्कासी ब्यूँझिएको छ ऊ आफ्नो पीडाको संसारबाट
बस चढ्दै गरेकी एउटी गर्भवती स्त्रीको हेराइबाट छेडिँदै गरेका
आफ्ना आँखासँगै उभिएर
जब सिट छोडिदियो उसले आफूबाट हराएको संसारलाई
अहो ! त्यस चर्को मध्यान्हमा पनि
टल्कियो शीतको थोपा उसको बास्केटमा भएको फूलको पत्रमा ।