भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सृष्टिसौन्दर्य / फणीन्द्र नेपाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहेँला किरणहरू अट्टालिकामा पोतेर
जब पल्टन्छ निस्तेज सूर्य हिमालका छाती र शिरहरूमा
गेरु रङले धरतीको सम्पूर्ण शरीर शिथिल पार्छ र धरती बिरामी पर्छ
शान्ति सुदूर क्षितिजको गोरेटामा सुस्ताउँछ
झ्याउँकीरीका प्रार्थनाहरू पहाडबाट ब्युँझेर चट्टानमा विलीन हुन्छन्
गोधूलि समयमाथि खसेको सन्ध्यासँगै धरती सघन रातको घुम्टो ओढ्छ
क्रमशः नैमिषारण्यका आख्यानहरू आगामा जल्छन् वा जलाइन्छन्
संस्कृतिका आदर्शहरू क्रान्तिमा धुजिन्छन् धुज्याइन्छन्
अलिकति विजयको अधिकतम उल्लासमा
छातीमाथि शान्त सन्ध्याको बीभत्स युद्धहरू
सशरीर एक अँगालो कालो रात र शतसहस्र नारा बोकेर ओर्लन्छन्
प्रतिरोधमा—
एक चिम्टी जूनको
एक फिलिङ्गो ताराको
उज्यालो आशा लिएर प्रवेश गर्दछन् सुस्तरी–सुस्तरी सृष्टिका वरदानहरू
एउटा सिङ्गै समुद्रलाई चुच्चाभरि समेटेर
कुइराको गतिमा गौँथलीका जोडीहरू वनचरीझैँ अज्ञात दिशातिर लाग्छन्
र लाग्छन् सायद ‘ह्रयाङ्गिङ गार्डेन’ को निर्माण
जति हुन्छ ।
 
अनभ्यस्त हातहरूले आरक्त घाम समाउँदै डाँडाका हरिया चउरमा
त्यही फाँटबाट कलिला रश्मि उघाउन लागेका निर्विषाद र निश्छल शिशुहरू
प्रतीक्षामा आगतको
अनागतलाई लत्याउँदै खेलका क्रममा
शुभ्रतासहित शुभयात्राबाट फर्केका इन्द्रेनीका मङ्गल घडाहरूको पवित्र जलले
नव निर्माणका निम्ति सृष्टिसौन्दर्यलाई अभिषेक गर्छन्
हल्का गुलाफी रङमा आफ्ना अनुहारहरू स्निग्धताले रँगाउँदै ती साना नानीहरू
स्वराष्ट्रका अनुपम फाँटभरि
कहिले बुकीका बुट्यानमा वैशाख भएर फुल्छन्
गुराँसका अनुरक्त पातहरूमा डाँफेका प्वाँख अल्झाएर
देवदारुको शीतल छायामा शान्तिको सास फेरेर
कहिले सम्पूर्ण सृष्टिलाई सौन्दर्यको उद्रक्त गमलामा सजाउँछन् ।

सान्ध्य चन्द्रमाले जून छर्कंदै वक्र पहाडमाथिबाट शुभ साइत गर्छ
प्रभाती सूर्यले घाम पोख्दै विस्तीर्ण आकाशबाट मङ्गल घडीको सङ्केत गर्छ
साइतको सङ्केतसँगै सगुन चिह्रनहरू लिएर साना नानीहरू कोमल पैतालाले
नाप्न सुरु गर्छन् देशलाई
मातृत्वको गङ्गालाई छातीभरि अटाएर
नानीलाई काखी च्याप्ने हतारमा हरेक आमाहरू
स्नेहका धारहरू लहराउँदै दुग्ध–सर्बत–सागरमा बहना खियाउँछन्
यो देखेर गौतमी बद्धशिलाको निर्वासन श्रापबाट मुक्ति खोज्छिन्।

जीवनको सतहमा जीवनको वृत्त र केन्द्र : रहस्यमय संयोजन
नील नदीको लहरझैँ तरङ्ग–तरङ्ग : एक समायोजन
घुम्छ आफैलाई आफ्नो यात्रा
चक्कर काटेर एउटा–एउटा क्रम यात्राको
नियात्रा, निर्मानवीकरण : जीवनका अत्यासलाग्दा क्षणहरूमा जीवन टुक्रिन्छ
निश्चलता, निरीहता : एउटा जीवनले अर्को जीवनलाई लखेट्छ
विध्वंस, मरुता : जीवन सन्त्रासले पिरोलिन्छ
जलन, तपन : जीवन ओइलिएर ढुङ्गाको आधार शिविरमा पल्टिन्छ
विनाश, विशृङ्खलता : जीवन बाँच्ने आधारहरू जीवनले नै गुमाउँछ

अन्धकार ।
रात्रिको यस्तो निस्पट्ट अन्धकारमा पनि
बालकहरू आफ्नो ह्दयको प्यालेटमा सिर्जनालाई जोगाउँछन् ।
नाराको पराजयपछि सत्वर
छाप्राको निर्माणसँगै धूलामा एउटा युद्ध–खेलको तयारी गरून् यी नानीहरू
जीवनको प्रकाशका निम्ति इन्द्रधनु भाँचेर आँखामा विद्युन्मालाका तारा
चम्काउँदै
समयको अनन्त क्षितिजमा विजयका गीतहरूको प्रतिध्वनिसँग खेल्दै
आफ्नो गन्तव्य आफै पहिल्याऊन्
चारैतिर सृष्टिको सुन्दर बीज हरियो भएर फुटेको छ
हो, निर्माण पनि यिनै साना नानीहरू हुन्र सृष्टि पनि
जो लेकबाट झरेर बेँसीभरि सलबलाइरहेछन्
धरतीबाट उठेर आकाशभरि चलमलाइरहेछन्।

साना नानीहरू : जसका साथमा निर्माणको छिनो र हातमा सीप हुन्छ
साना नानीहरू : जसका अन्तरमा अज्ञात सौर्य र मुटुमा हिम्मत हुन्छ
साना नानीहरू : जसका ह्दयमा धैर्य र मनमा विश्वास हुन्छ
साना नानीहरू : जसका आँखामा सुदूर भविष्यको सङ्केत र स्वप्निलता हुन्छ
लेख्दै भोजपत्रको मानचित्रमा स्वाभिमानको इतिहास र गाउँदै गीत अस्तित्वको
उः हेर (उनीहरूको आगमन पर्खेर बाटामा दुवैतिर लाममा बसेका पर्यवेक्षकहरू ।)
कलम र राँको बोकेर आउँदैछन् उनीहरू
— आकाश र धरतीको सङ्गमस्थलबाट
— स्वर्णिम–स्वर्णिम क्षितिजबाट
ती जो आउँदै छन्
तिनीहरू नै सृष्टिका सुन्दर फूलहरू हुन् ।